
२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज धनगढीका लागि प्रस्थान गर्न लागेका छन्। उनले धनगढीमा आयोजना गरिने ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेश स्तरीय भेला’ को उद्घाटन गर्ने कार्यक्रम छ। विशेष महाधिवेशनपछि यो थापा पहिलो पटक देउवाको गृह प्रदेश सुदूरपश्चिम जान लागेका हुन्। सो भेलाको तयारीका लागि धनगढीमा रहेका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ले यसबारे जानकारी गराएका छन्। थापा बिहान आठ बजे हुने फ्लाइटमार्फत धनगढी आउनेछन्।
भेलाका लागि उपसभापति विश्वप्रकाश शर्मा शुक्रबार र महामन्त्री गुरुराज घिमिरे बिहीबार नै धनगढी पुगिसकेका छन्। यो प्रदेश स्तरीय भेला दुई दिनसम्म सञ्चालन हुने छ। २३ वैशाखमा बसेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले प्रदेश स्तरीय भेला आयोजना गर्ने निर्णय गरेको हो। प्रदेश सभापति वीरबहादुर बलायर र जिल्ला सभापति नारायण भट्ट यस भेलामा सहभागी नहुने प्रदेश कार्यसमितिका एक नेताले जानकारी दिएका छन्।






