Skip to main content

पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

२६ वैशाख, काठमाडौं । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रणालीका साथै पूर्वी भू–भाग नजिकको तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव व्याप्त छ। हाल मधेश, बागमती र गण्डकी प्रदेशलगायत कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रहरूमा सामान्यतया बादल लागेको छ भने बाँकी तराई क्षेत्रहरूमा आंशिक बादल छाएको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षासहित मधेश, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भए पनि भइरहेको छ भनी मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

आज दिउँसो हिमाली र पहाडी भूभागमा सामान्यतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका केही स्थानहरूमा साथै अन्य प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना छ। साथै तराई क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावनासमेत रहेको मौसम महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशहरूमा सामान्यतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बादल रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।