Skip to main content

सुदूरपश्चिमका अनुभवजर नेताहरूलाई एउटै यात्रामा लैजान चाहन्छौं: विश्वप्रकाश शर्मा

२६ वैशाख, धनगढी। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुदूरपश्चिमका अनुभवी नेताहरूलाई सँगै यात्रामा लैजान चाहेको बताएका छन्। कैलालीको धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’ मा उनले यो कुरा बताएका हुन्। उनले भने, “आज पार्टीभित्र सबैलाई यस भूगोलमा उभिएर भन्नुपर्दा गगनजी वा विश्वप्रकाश, अरु साथीहरू जसले लामो समय राजनीति गरेका छन्, ती नेताहरूलाई पनि सँगै हामी यात्रामा लैजान चाहन्छौं, विशेषगरी सुदूरपश्चिमको भूगोलका साथीहरूलाई।”

उपसभापति शर्माले कांग्रेस नेतृत्वले कसैप्रति पनि पूर्वाग्रह नराख्नुपर्नेमा जोड दिएका छन्। उनले भने, “प्रत्येक साथीलाई विश्वास रहोस् कि नयाँ नेतृत्व आएपछि त्यो नेतृत्वले हाम्रो वा कुनै कारक, कोण, रंगले हेर्ने वा पूर्वाग्रह राख्ने बिल्कुलै हुँदैन।” शर्माले पार्टीलाई मजबूत बनाएर अगाडि बढ्न सबै एकताबद्ध हुन आवश्यक रहेको पनि उल्लेख गरे।

उनले २१ भदौमा सम्पन्न निर्वाचनमा पार्टीले प्राप्त गरेको १७ लाख मतलाई लोकतान्त्रिक प्रक्रियाका लागि ठूलो समर्थन भएको बताए। उनले भने, “त्यो १७ लाख मत लोकतान्त्रिक प्रक्रियाका लागि, कांग्रेसको जीवनका लागि र भविष्यको उज्यालोका लागि तपाईं हामीसँग उभिएको शक्ति हो।” शर्माले संविधान र लोकतान्त्रिक मूल्य–मान्यताभित्र रहँदा सरकारलाई कांग्रेसको समर्थन रहने पनि बताए। यद्यपि, उनले सरकारका केही गतिविधि संविधान र लोकतान्त्रिक मूल्य–मान्यताभित्र नपरेको टिप्पणी समेत गरे।

उनले भने, “नयाँ बनेको सरकारलाई हाम्रो साथ, समर्थन र शुभकामना छ। तर, त्यति मात्र जहाँसम्म सरकार संविधानभित्र हुन्छ। जहाँसम्म सरकार लोकतान्त्रिक मूल्य–मान्यताभित्र रहन्छ। जहाँसम्म यो देशको समग्र प्रगतिलाई केन्द्रीय स्थानमा राखिन्छ। तर अहिले सरकारका गतिविधिहरू त्यो दिशातर्फ लागेका छैनन्।”