भिक्ट्री डे परेडमा पुटिनले भने – युक्रेनसँग न्यायसंगत युद्ध लड्दैछन्

२६ वैशाख, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग न्यायसंगत युद्ध लडिरहेको बताएका छन् । मस्कोको रेड स्क्वायरमा रुसको वार्षिक भिक्ट्री–डे (विजय दिवस) परेडमा सम्बोधन गर्दै पुटिनले युक्रेनसँगको युद्ध औचित्यपूर्ण र न्यायसंगत रहेको दाबी गरेका छन् । रुसका लागि भिक्ट्री डे परेड राष्ट्रकै सबैभन्दा ठूलो राष्ट्रिय उत्सव मानिन्छ । एडोल्फ हिटलर नेतृत्वको नाजी जर्मनीमाथि सोभियत संघले हासिल गरेको जितको सम्झनामा रुसले यो दिवस मनाउने गरेको छ ।
आफ्नो सम्बोधनमा पुटिनले युरोपेली संघ र नाटोको पनि तीव्र आलोचना गरेका छन् । उनले युक्रेनलाई नाटो देशहरूले हतियार र समर्थन प्रदान गरिरहेको र त्यसैले युक्रेन आक्रमक शक्ति भएको दाबी गरेका छन् । पुटिनले आक्रमक भाषण दिनुभयो तापनि यसपटक रूसमा विजय दिवस विगतको तुलनामा शान्तिपूर्ण रूपमा मनाइएको छ, जुन विषयमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि उल्लेख गरेका छन् । समारोहअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबीच तीन दिने युद्धविराममा सहमति भएको घोषणा गरेका थिए ।
करीब दुई दशकयता पहिलोपटक मस्कोको विजय दिवस परेडमा कुनै सैन्य हतियार वा भारी सैन्य उपकरण प्रदर्शन गरिएको छैन भन्ने समाचार आएको छ । यद्यपि, कडा सुरक्षा व्यवस्था मिलाएर ठूलो संख्यामा सैनिकहरूले रेड स्क्वायरमा मार्च गर्दै सहभागिता जनाएको खबर छ । पुटिनले सम्बोधन सुरु गर्दा दोस्रो विश्वयुद्धमा सोभियत सैनिकहरूले गरेका बलिदानको सम्झना गरेका थिए।






