Skip to main content

धरानमा पहिलो प्याराग्लाइडिङ प्रिमियर लिगको उद्घाटन

धरानमा नेपालमा पहिलोपटक सुरु भएको प्याराग्लाइडिङ प्रिमियर लिग ओपन एक्युरेसी सिरिज प्रतियोगिता वैशाख २५ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने छ। यस प्रतियोगितामा नेपाल र भारतका ३२ खेलाडी सहभागी छन् र कुल पुरस्कार राशि ६ लाख २५ हजार रुपैयाँ रहेको छ। कोशी प्रदेश सरकारले प्रतियोगिताको सम्पूर्ण खर्च वहन गर्ने तथा आगामी आर्थिक वर्षमा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्ने योजना बनाएको छ। २५ वैशाख, सुनसरी।

धरानमा शुक्रबारदेखि पहिलो प्याराग्लाइडिङ प्रिमियर लिग ओपन एक्युरेसी सिरिज प्रतियोगिता सुरु भएको छ। नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघको आयोजनामा भएको यो प्रतियोगिता वैशाख २८ गतेसम्म चल्नेछ। धरान–४ छोटीमोरङको डाडामा सुरु भएको उक्त प्रतियोगितामा नेपाल र भारतका प्याराग्लाइडिङ खेलाडीहरूले सहभागिता जनाएका छन्। संघका केन्द्रीय अध्यक्ष भूपाल राईका अनुसार थाउजेण्ड्स विग बुद्ध नजिकको डाडाबाट प्रतियोगिहरूले प्याराग्लाइडिङ गरी धरान–१४ पर्ने खत्रीधारा वरिपरि मैदानमा अवतरण गर्नेछन्।

प्रतियोगितामा चार महिलासहित जम्मा ३२ जना खेलाडी सहभागी छन्। चार समूहमा विभाजित यो प्रतियोगिताको कुल पुरस्कार राशि ६ लाख २५ हजार रुपैयाँ तोकिएको छ। एक्युरेसी ओभरअलमा शीर्ष स्थान हासिल गर्नेले १ लाख ५० हजार रुपैयाँ, दोस्रो हुनेले १ लाख रुपैयाँ र तेस्रो हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै, एक्युरेसी महिला एकल समुहमा पहिलोले ४० हजार रुपैयाँ, दोस्रोले २५ हजार रुपैयाँ, र तेस्रोले १५ हजार रुपैयाँ पाउनेछन्।

नेपालमा पहिलोपटक आयोजना भएको प्याराग्लाइडिङ एक्युरेसी प्रतियोगिताले साहसिक खेलमार्फत पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अध्यक्ष भूपाल राईले बताए। उनले भने, “नेपालमा प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ खेलको इतिहास चार दशकभन्दा पुरानो भए तापनि व्यवस्थित रूपमा एक्युरेसी लिग प्रणालीअनुसारको प्रतियोगिता पहिलोपटक धरानबाट सुरु भएको हो।” प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका थिए। उनले प्रतियोगितामा सहभागी भारतीय पाइलटहरूलाई स्वागत गर्दै प्रतियोगिताको औपचारिक शुभारम्भ गरेका थिए।