Skip to main content

एक महिनाभित्र एसईई नतिजा सार्वजनिक गर्ने निर्णय

राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने निर्णय गरेको छ। परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण भइरहेकाले नतिजा छिटो आउने छ र बोर्डले त्रुटि नहुने गरी नतिजा प्रकाशनको तयारी गरिरहेको छ। यस वर्ष ५ लाख १२ हजार ४२१ विद्यार्थीले फारम भरेका छन् र नतिजा एसएमएस, आईभीआर तथा वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।

२७ वैशाख, काठमाडौं – ‘यदि प्रयास गर्‍यो भने सम्भव रहेछ।’ माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक महिनाभित्र सार्वजनिक हुने निर्णयपछि सामाजिक सञ्जालमा प्रायः व्यक्त गरिएको प्रतिक्रिया यही हो। अघिल्ला वर्षहरुमा नतिजा सार्वजनिक गर्न करिब ३ महिना लाग्ने गरेको थियो। राष्ट्रिय परीक्षा बोर्डको क्यालेन्डरअनुसार सामान्यतया असारको दोस्रो साता नतिजा प्रकाशित हुन्थ्यो।

तर, बालेन शाह नेतृत्वको सरकारले नयाँ निर्णय गर्दै नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने व्यवस्था मिलाएको छ। यसैअनुसार बोर्डले २०८२ सालको एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने योजना बनाएको छ। बोर्डले डेटा इन्ट्री कार्य पूरा गरी त्रुटि हुन नदिन मेहनत गरिरहेको छ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने, ‘नतिजा सार्वजनिक गर्ने समय नजिकिएको छ। पर्सिसम्म आउँछ। आईटी विभागले काम गरिरहेको छ। हामी त्रुटि रहित परिणाम सार्वजनिक गर्नेछौं।’ यस पटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच गरिएको कारणले नतिजा एक महिनाभित्र आउन सम्भव भएको हो।

उनी थप्छन्, ‘शिक्षक साथीहरूको सक्रिय सहभागिता रह्यो। परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच भयो। रणनीति परिवर्तन भएपछि नतिजा छिटो सार्वजनिक गर्न सम्भव भएको हो।’ आईटी विभागको काम सकिएपछि बोर्ड बैठक बोलाएर नतिजा सार्वजनिक गरिने छ। ‘आईटीले आफ्नो कार्य पूरा गरेपछि बोर्ड बैठक बस्छ,’ उनले बताए।

नतिजा समयमा सार्वजनिक गर्न ३० भन्दा बढी कर्मचारी खटिएका छन्। परीक्षा नियन्त्रण कार्यालयका अनुसार सार्वजनिक विदाको दिन पनि कर्मचारीहरूले काम गरेका छन्। ढिला नतिजा आउँदा विद्यार्थीहरूमा मानसिक दबाब पर्नुका साथै ब्रिज कोर्स सञ्चालनले अनावश्यक तनाव भएको समस्या देखिन्थ्यो।

शिक्षा मन्त्री सस्मित पोखरेलले भने, ‘विद्यार्थीलाई मानसिक तनाव नदिन अब नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने निर्णय गरिएको हो।’ सरकारले एसईईपछिको ब्रिज कोर्स कार्यक्रम पनि रोक लगाएको छ। विद्यार्थीको रुचि अनुसार खेलकुद वा संगीत सिक्ने अवसर सरकारले दिन चाहन्छ।

नतिजा पाउन ३ महिना कुर्नुपर्ने बाध्यता हट्दा शिक्षक र विद्यार्थी उत्साहित छन्। प्रिन्सिपल एसोसिएसनका अध्यक्ष सुदाम गौतमले भने, ‘विद्यार्थीहरूले नतिजा पाउन धेरै समय कुर्नु पर्दैन। ब्रिज कोर्स जान पनि पर्दैन। शिक्षक र विद्यार्थी दुवै उत्साहित छन्। नतिजा छिट्टै आएपछि कक्षा पनि छिट्टै सुरु गर्नुपर्छ। समयमा नतिजा र समयमा कक्षा भएकाले राम्रो सन्देश जान्छ।’

यस वर्ष एसईई गत चैत १९ देखि २९ सम्म सञ्चालन भयो। परीक्षा सकिएपछि काठमाडौँ गोकर्णेश्वरका कृतक पौडेल फ्रेश हुन ट्रेकिङमा गएका थिए। दोस्रो साता उनी गोसाइँकुण्ड ट्रेकिङमा पनि गएका थिए। कृतकले भने, ‘सरकारले ब्रिज कोर्स पनि हटायो। एसईई सकिएपछि तुरुन्त पढ्नु पर्दैन। त्यसैले ट्रेकिङ गएको हुँ। कुनै तनाव पनि महसुस भएन।’

उनले थपे, ‘पहिले त ३ महिना कुर्नुपर्थ्यो। त्यो समय के गरेर बिताउने भन्ने हुन्थ्यो। यसपटक एक महिनामै नतिजा आउँदा समय व्यर्थ जान नपर्ने भयो। नतिजा आएपछि कम्प्युटर विषय पढ्ने योजना छ।’

यसैगरी भक्तपुरका शान न्यौपानेले पनि एक महिनामै ‘बोर’ भएको बताए। उनी पनि परीक्षा सकाएपछि धेरै समय घुमफिरमा बिताएका छन्। उनले भने, ‘एक महिनामै त बोर लागिसक्यो। नतिजा आउन ३ महिना लाग्थ्यो भने झन् गाह्रो हुन्थ्यो। एसईई सकिएपछि भक्तपुर घुमेँ, झापा गएँ, खेलें, फिल्म हेरेँ। एसईईमा जस्तो दबाब थिएन।’ अब उनी विज्ञान विषय पढ्ने तयारीमा रहेका छन्।

कृतक र शान मात्र होइन, ठूलो संख्यामा विद्यार्थी छिटो नतिजा आउने भएकोमा उत्साहित छन्। यस वर्ष परीक्षाका लागि ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए। जसमा नियमित तर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले फारम भरेका थिए। छात्रा २ लाख ५७ हजार ६१३, छात्र २ लाख ५४ हजार ८०१ र अन्य ७ जना विद्यार्थीहरू रहेका छन्। राष्ट्रिय परीक्षा बोर्डले नतिजा एसएमएस, आईभीआर र वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था गरेको छ।