
२८ वैशाख, काठमाडौं । चीनको आर्मी मेडिकल युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले माछाको तेल सेवन गर्दा अल्जाइमर रोगमा सोच्ने र सम्झने क्षमता सुधार नहुने निष्कर्ष निकालेका छन्। बरु यसले उल्टो संज्ञानात्मक क्षमतामा गिरावट छिटो हुनसक्ने अध्ययनले देखाएको छ। धेरै वृद्धवृद्धाहरूले आफ्नो संज्ञानात्मक कार्यको संरक्षणका लागि ओमेगा-३ सप्लिमेन्टहरू सेवन गर्ने गर्दछन्। तर, यस चिनियाँ अध्ययनले यस विश्वासमा प्रश्न उठाएको छ।
यो अध्ययन उत्तर अमेरिकाका ८०० भन्दा बढी वृद्धवृद्धाहरूको डाटामा आधारित थियो, जसमा करिब आधामा डिमेन्सियाको जोखिम बढाउने ‘APOEε4’ नामक जीन पाइयो। तथ्याङ्क अनुसार, ओमेगा-३ सप्लिमेन्ट सेवन गर्नेहरूमा नलिनेहरूको तुलनामा संज्ञानात्मक क्षमतामा बढी र तीव्र गिरावट देखिएको थियो। यो अध्ययन अप्रिलमा अनलाइन सार्वजनिक गरिएको थियो र ‘द जर्नल अफ प्रिभेन्सन अफ अल्जाइमर्स डिजिज’ को जुन संस्करणमा प्रकाशित हुनेछ। अनुसन्धानकर्ताहरूका अनुसार, ‘यी निष्कर्षहरूले ओमेगा-३ सधैं लाभदायक हुने भन्ने प्रचलित मान्यतालाई चुनौती दिँदै संज्ञानात्मक सुरक्षाका लागि यसको व्यापक प्रयोगलाई सावधानीपूर्वक पुनर्मुल्यांकन गर्नुपर्ने आवश्यकता औंल्याउँछन्।’






