
सरकारले आफ्नो सय बुँदाको नीति तथा कार्यक्रममा खेलकुदलाई केवल एउटा बुँदामा मात्र समेटेको छ। खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालयको पाठ्यक्रममा खेलकुदलाई समावेश गर्ने योजना अगाडि सारे पनि यो नीति तथा कार्यक्रममा समावेश गरिएको छैन। सरकारले खेलकुदलाई राष्ट्रिय एकता, स्वास्थ्य, पर्यटन र अर्थतन्त्रसँग जोड्ने उद्घोष गरेको छ। नीति कार्यक्रममा खेलाडीको सामाजिक सुरक्षा सुनिश्चित गर्ने प्रावधान भए पनि अहिले सम्म लागू हुन सकेको छैन।
२८ वैशाख, काठमाडौं। खेलकुदमन्त्री सस्मित पोखरेलले बारम्बार दोहोर्याएका विषयहरूमध्ये एक थियो – खेलकुदलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्छ भन्ने। नीतिगत तथा कानुनी रूपमा खेलकुदलाई शिक्षासँग जोड्ने प्रतिबद्धता जनाए तापनि आगामी आर्थिक वर्षका लागि प्रस्तुत भएका नीति तथा कार्यक्रममा त्यसलाई समावेश गर्न असफल भएको देखिन्छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहेका पोखरेलले नेपालको खेलकुद क्षेत्रको विकासका लागि विद्यालयहरूमा खेलकुदलाई पाठ्यक्रममा राख्ने योजना रहेको बताए।
तथापि, राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा खेलकुदलाई शिक्षासँग जोड्ने कार्य समावेश थिएन। बरु सरकारले खेलकुदलाई राष्ट्रिय एकता, स्वास्थ्य, पर्यटन र अर्थतन्त्रसँग जोड्ने उद्घोष गरेको छ। नीति तथा कार्यक्रममा विद्यालय तहदेखि प्रतिभा पहिचान गर्ने कार्यक्रम सञ्चालन गर्ने योजना राखिएको छ। साथै खेल क्षेत्रको व्यवसायिकीकरण, निजी क्षेत्रको सहभागिता र खेलाडीको सामाजिक सुरक्षा व्यवस्थालाई पनि समेटिएको छ।
नयाँ सरकार गठन भएपछि शासकीय सुधार समितिले तयार पारेको सय कार्यसूचीमा खेलकुद समावेश गर्न नसकिएको थियो भने बालेन नेतृत्वको सरकारले पनि नीति तथा कार्यक्रममा खेलकुदलाई धेरै प्राथमिकता नदिेको देखिन्छ।






