
समाचार सारांश: नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा देखाएको कानेखुसीको दृश्यलाई संसदीय अभिलेखबाट हटाउन माग गरेका छन्। एमाले सांसद गुरुप्रसाद बरालले प्रधानमन्त्रीले साइड टक गरेको भन्दै संसदीय नियम उल्लंघन भएको दाबी गरेका छन्। बरालले प्रधानमन्त्रीको राष्ट्रिय पोशाकसम्बन्धी विषयमा सभामुखमार्फत रुलिङको माग पनि गरेका छन्।
२८ वैशाख, काठमाडौं। नेकपा एमालेले संसदमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले देखाएको कानेखुसीको दृश्यलाई संसदीय अभिलेखबाट हटाउन माग गरेको छ। सोमबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। सोही क्रममा प्रधानमन्त्रीले साइड टक गरेको भन्दै एमाले सांसद गुरुप्रसाद बरालले विरोध प्रकट गरेका छन्।
‘राष्ट्रपतिको सम्पूर्ण सम्बोधनको करिब १५ मिनेट फ्रन्ट लाइनमा बसेर प्रधानमन्त्रीज्यूले के संवाद गरिरहनुभएको थियो? के छलफल चलिरहेको थियो? यो संसदीय मर्यादा अनुसार उपयुक्त होइन र असभ्य देखिएको छ। त्यसैले यसलाई अभिलेखबाट हटाइयो भने आगामी दिनका लागि राम्रो उदाहरण स्थापित हुनेछ,’ सांसद बरालले भने।
नीति तथा कार्यक्रम प्रस्तुत गरेका राष्ट्रपति पौडेललाई धन्यवाद दिन बसेको प्रतिनिधिसभाको बैठकमा एमाले सांसद बरालले उपरोक्त प्रतिक्रिया दिएका हुन्। साथै उनले प्रधानमन्त्री बालेनको पोशाकसम्बन्धी विषयमा पनि प्रश्न उठाएका छन्।
‘प्रधानमन्त्रीज्यूले दुईवटा राष्ट्रिय महत्वका बैठकहरूमा, संयुक्त सदनमा राष्ट्रिय पोशाक लगाउनु आवश्यक छैन र?’ उनले प्रश्न राख्दै भने, ‘यसरी कुन चलन चल्ने कि नचल्ने? हामी कुन प्रकारको संस्कार देशमा स्थापित गर्न चाहन्छौं? म सभामुख महोदय मार्फत यस विषयमा स्पष्ट रुलिङको माग गर्दछु।’






