Skip to main content

मलेसिया पुगेका बुबा मिर्गौलाको समस्याले निधन, ऋण तिर्न रूस गएका छोरा युक्रेनमा युद्धबन्दी

मिर्गौलाको समस्या भएपछि वैदेशिक रोजगारबाट फर्किएका आफ्ना बुबाको उपचारको क्रममा निधन भएपछि ऋण तिर्ने सपना लिएर रोल्पाको रुन्टीहढी गाउँपालिका निवासी प्रतीक पुन तीन वर्षअघि रूस गएका थिए। आमा तीलकुमारीले ऋणमाथि अर्को ऋण थपेर ‘ठूलो देश’ नजान छोरालाई अनुनय गरिन्। “हामी दुखी गरिब मान्छे ठूलो देश हेर्ने होइनौं। कमाउन जान्छ भने मलेसिया जा” भन्ने भन्दाभन्दै कता के गरे त्यो थाहा छैन,” उनले सोमबार टेलिफोनमा बताइन्। उनका मामाले कोरियन भाषा सिकेर कोरिया जान सुझाव दिएका थिए। तर त्यो भाषा परीक्षा उत्तीर्ण गर्न लामो समय लाग्ने भएकाले उनले त्यो विकल्प रोजेनन्। पोर्चुगल जान योजना बनाएका एक्लो छोरा प्रतीक कसरी रूस पुगे भन्ने थाहा उनकी आमा तीलकुमारीलाई छैन। उनलाई छोराको जाँदा सकिंदो ‘१३ लाख ऋण’ मात्र याद छ।

रूस पुगेपछि उनले आफू विद्यार्थी भिसामा त्यहाँ पुगेको आमालाई बताएका थिए। केही पछि उनी रुसी सेनामा भर्ती भएको जानकारी आमालाई दिए। केही दिनपछि पाँच लाख रुपैयाँ पठाउने आश्वासन दिइसकेपछि प्रतीक सम्पर्कविहीन बनेको तीलकुमारीले सुनाइन्। रूस पुगेको केही महिनामै २०८० मंसिरमा प्रतीकलाई युक्रेनी सेनाले पक्राउ गरी युद्धबन्दी बनाएको खबर आयो। परराष्ट्र मन्त्रालयले पुस ४ गते रोल्पाका प्रतीक पुनसहित बर्दियाका विवेक खत्री, काभ्रेपलान्चोकका सिद्धार्थ ढकाल र मोरङका विकास राई युक्रेनमा बन्दी रहेको पुष्टि गर्‍यो। चितवन, खोटाङ र गोरखा लगायत जिल्लाबाट रूस पुगेर त्यहाँको सेनामा भर्ती भएका नेपालीहरू पनि युक्रेनमा युद्धबन्दी भएको मन्त्रालयले जानकारी दिएको छ। जसमध्ये प्रतीकसहित पाँच जना सन् २०२३ देखि युक्रेनमा युद्धबन्दी छन्।

मलेसियामा ११ वर्ष काम गरेका प्रतीकका बुवाको मिर्गौला समस्या पत्ता लागेको थियो। त्यसपछि तीन वर्षसम्म नेपालमा डायलासिस गराएपछि चार वर्षअघि उनको निधन भयो, तीलकुमारीले बताइन्। सन् २०२४ को मार्चमा युक्रेनले पाँच जना नेपाली नागरिकसहित रहेका युद्धबन्दीहरूको भिडियो सार्वजनिक गर्दै नेपाल लगायतका देशहरूलाई रुसी सेनामा आफ्ना नागरिक भर्ती नगर्न आग्रह गर्‍यो। युक्रेनी अधिकारीहरूले कब्जामा लिएका रुसी सैनिकमा भर्ती भएका विदेशी नागरिकहरूको भिडिओमा प्रतीक पनि देखिएका छन्। रुसी सेनामा गएका १२५ भन्दा बढी नेपाली युवाहरूले ज्यान गुमाइसकेपछि छोरा सकुशल रहेको भिडिओ देखेर तीलकुमारीलाई केही राहत मिल्यो। छोराले चिठीमा आफूलाई राम्ररी रहेको लेखेका छन्, तर ती चिठी नदेखेसम्म आमाको मन शान्त भएन। प्रतीक सकुशल नेपाल फर्किएर पनि भए पनि ज्याला मजदुरी गरेर ऋण तिर्ने आमा तीलकुमारीको दृढ सङ्कल्प छ।

“सक्दो मान्छे आइदिए झुपडीमा वा सडकमा बसेर पनि हातखुट्टा भए ज्यान पाल्न तुपर्छ, अरू के छ र,” उनले भनिन्। सन् २०२२ को फेब्रुअरीमा पूर्ण रूपमा सुरु भएको रूस-युक्रेन युद्धको बेला नेपालीहरू पनि रुसी सेनामा भर्ती हुन गएको खबर आइरहेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार रुसी सेनामा भर्ती भएर बेपत्ता हुने नेपालीहरूको संख्या १२५ पुगेको छ। प्रतीकले हरेक तीन महिनामा युक्रेनको जेलबाट आमालाई चिठी लेख्दै आएका छन्। युक्रेनबाट आएको पत्र दाङको तुलसीपुर उपमहानगरपालिका बिजौरीमा पुग्छ। रोल्पाबाट सरेकी आमा विगत केही वर्षदेखि त्यहाँ ज्याला मजदुरी गर्दै छिन्। “उसले चिठीमा लेखेको हुन्छ म एक्लो छैन, ममी। छ- सत जना छौँ, चिन्ता नगर्नू भनेर,” आमा तीलकुमारी भन्छिन्। “तर पनि तनाव लाग्छ, एउटा छोराको कुरा हो।”