
समाचार सारांश समीक्षा गरिएको। आयुर्वेदका अनुसार दही उष्णवीर्य, रुचिकर, ग्राही, वातनाशक र पुष्टिवर्द्धक गुणले यात्रामा पाचन सुधार र रोगप्रतिरोधी क्षमता बढाउँछ। हाम्रो नेपाली संस्कृतिमा यात्रा गर्नुअघि दही खुवाउने चलन अत्यन्त पुरानो र लोकप्रिय छ। यात्राअघि दही खुवाउँदा शुभ हुने, यात्रा सफल र कार्यसिद्धि हुने विश्वास प्रचलित छ। यद्यपि यसमा वैज्ञानिक आधारहरू पनि उत्तिकै महत्वपूर्ण छन्। आयुर्वेदका शास्त्रीय ग्रन्थहरू अनुसार दहीका गुणहरू आयुर्वेद शास्त्रहरूमा दहीलाई ‘दधि’ भनिएको छ र यसको गुणहरूको विस्तृत व्याख्या गरिएको छ।
यात्राको सन्दर्भमा आयुर्वेदले दहीलाई किन महत्त्वपूर्ण ठान्छ भन्ने कुरा तलका बुँदाहरूमा स्पष्ट रुपमा देखिन्छ: १. उष्णवीर्य: धेरैले दही खाँदा शीतल महसुस गर्छन् भन्ने सोच्न सक्छन्, तर आयुर्वेद अनुसार दही उष्ण (तातो) प्रकृतिको वीर्य हुन्छ। यसले शरीरको जठराग्नि अर्थात् पाचन अग्नि प्रज्वलित गरी यात्रामा अपच हुनबाट रक्षा गर्छ। २. रुचिकर: शास्त्रीय ग्रन्थहरूमा दहीलाई ‘रुच्य’ भनिएको छ जसको अर्थ दहीले खाने इच्छा बढाउँछ र मुखको स्वाद सुधार्दछ। यात्राको तनावका कारण कहिले काहीँ खान मन नलाग्ने अवस्थामा दही भोक बढाउन सहयोग पुर्याउँछ। ३. ग्राही: दहीको एक विशेष गुण ‘ग्राही’ हुनु हो, जसको अर्थ यो आन्द्राबाट अधिक पानी सोस्ने र दिसालाई बाँध्ने काममा उपयोगी हुन्छ। यात्राको क्रममा लाग्नसक्ने सामान्य पखाला वा पेट गडबडी रोक्न यो गुण अत्यन्त उपयोगी छ। ४. वातनाशक: यात्रा गर्दा शरीरमा ‘वात’ दोष बृद्धि हुने सम्भावना हुन्छ, जसले गर्दा शरिर दुख्ने, ग्यास भर्ने र थकान हुने गर्दछ। दहीले वात दोषलाई शान्त गराउँछ जसले यात्रालाई आरामदायक बनाउँछ। ५. पुष्टिवर्द्धक: आयुर्वेद अनुसार दहीले शरीरका धातुहरुलाई पोषण गर्दछ र ओज अर्थात् रोगप्रतिरोधी क्षमता वृद्धि गर्छ। यसले यात्राका लागि आवश्यक शारीरिक बल प्रदान गर्दछ।
आधुनिक चिकित्सा विज्ञानले पनि दहीलाई ‘सुपरफूड’ को रूपमा स्वीकार गरेको छ। यसमा पाइने पोषक तत्व र प्रोबायोटिक्सका कारण दही स्वास्थ्यका लागि अत्यन्त लाभदायक हुन्छ। आधुनिक चिकित्सा विज्ञान अनुसार दहीका गुणहरू यसप्रकार छन्: १. प्रोबायोटिक्स र आन्द्राको स्वास्थ्य: दहीमा पाइने लाइभ कल्चरहरूलाई प्रोबायोटिक्स भनिन्छ। यी ब्याक्टेरियाले आन्द्रामा माइक्रोबायोमको सन्तुलन कायम राख्छन् र ग्यास्ट्रिक, कब्जियत र पखाला जस्ता समस्या कम गर्न सहयोग गर्छन्। २. पोषक तत्वहरूको भण्डार: दहीमा शरीरलाई आवश्यक लगभग सबै पोषक तत्व पाइन्छन्। ३. प्रोटिनको उत्कृष्ट स्रोत: दहीमा सजिलै पच्ने खालको प्रोटिन हुन्छ। ४. ल्याक्टोज इन्टोलरेन्समा उपयोगी: दही सुरक्षित र उपयुक्त बनाउँछ। ५. मानसिक स्वास्थ्य र ‘गट-ब्रेन एक्सिस’: दहीमा पाइने प्रोबायोटिक्सले तनाव र डिप्रेसनका लक्षणलाई कम गर्न सहयोग पुर्याउँछ। (लेखक डा. देवराज क्षेत्री, दाङस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठका उपप्राध्यापक हुन्)






