
विराटनगरको रानी नाकामा नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य गरिएको छ र सुरक्षा कडाइ गरिएको छ। कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद घिमिरेले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको जानकारी दिएका छन्। प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले अवैध घुसपैठ र गैरकानुनी गतिविधि नियन्त्रणका लागि परिचयपत्र अनिवार्य बनाइएको बताएका छन्। २९ वैशाख, विराटनगर।
स्थानीय प्रशासनले विराटनगरको रानी नाका हुँदै नेपाल प्रवेशमा कडाइ गरेको छ। भारतको पश्चिम बंगालमा सत्ता परिवर्तन भएसँगै जोगवनी हुँदै विराटनगर प्रवेश गर्ने रानी नाकामा सुरक्षा कडा गरिएको हो। पूर्वी नाका काकडभिट्टामा भने पहिलेदेखि परिचयपत्र अनिवार्य छ।
भारतसँग सीमा जोडिएका सबै क्षेत्रमा सतर्कता बढाइएको छ, कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद घिमिरेले बताए। उनका अनुसार रोहिङ्ग्या शरणार्थी नेपाल प्रवेश गर्न सक्ने आशंकामा सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको हो। ‘सीमा क्षेत्रमा रहेका सबै प्रहरी युनिटले सतर्कता बढाएका छन्,’ उनले भने, ‘नेपाल प्रवेशका लागि परिचयपत्र अनिवार्य गरिएको छ।’
भारतको पश्चिम बंगालमा ममता बनर्जीको १५ वर्षे शासन अन्त्य गर्दै भाजपाका शुभेन्दु अधिकारी मुख्यमन्त्री बनेका छन्। अधिकारी कट्टर हिन्दुवादी नेता हुन्। उनी मुख्यमन्त्री बनेपछि म्यानमारबाट बंगलादेश हुँदै पश्चिम बंगालमा शरण लिएर बसेका रोहिङ्ग्या शरणार्थीहरूले शिविर छोड्न थालेपछि नेपाल प्रवेश गर्ने सम्भावना बढेको भन्दै नाकामा कडाइ गरिएको हो।
प्रहरी प्रधान कार्यालयले भारतसँग सीमा जोडिएका सबै जिल्लामा सतर्कता अपनाउन सर्कुलर मार्क गरेको थियो। नाकामा खटिएका सुरक्षाकर्मीले नेपाल प्रवेश गर्नेहरूलाई आउने कारण समेत सोधिरहेका छन्। नाकामा सशस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। सुरक्षा जाँचका लागि तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको छ।
भारतको कोलकाताबाट हरेक तीन दिनमा जोगवनीसम्म रेल आउँछ। रेल र सडक मार्गका माध्यमबाट पश्चिम बंगालमा रहेका रोहिङ्ग्या शरणार्थी नेपाल प्रवेश गर्ने सम्भावनामा नाकामा कडाइ गरिएको प्रहरीको बताइ छ। प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले भने, ‘सीमा सुरक्षा हाम्रो नियमित ड्युटी हो, सीमा क्षेत्रमा हुन सक्ने अवाञ्छित गतिविधि र भारतीय बजारमा निर्भर हुने प्रवृत्तिलाई रोक्न कडाइ गरिएको हो। मोरङ जिल्लाका सबै नाकामा परिचयपत्र अनिवार्य गरिएको छ।’






