प्राध्यापक प्रेमशान्ति तुलाधरलाई मातृभाषा राष्ट्रिय सेवा पुरस्कार-२०८२ प्रदान

प्राध्यापक प्रेमशान्ति तुलाधरलाई मातृभाषा राष्ट्रिय सेवा पुरस्कार-२०८२ आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले प्रदान गरेको छ। आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले पुरस्कार समारोहमा मातृभाषामा योगदान गर्ने व्यक्तित्वको सम्मानले मातृभाषाको सम्मान हुने बताएका छन्। आदिवासी जनजाति महासंघका अध्यक्ष निमा लामाले मातृभाषा संरक्षण र सम्बर्द्धनका लागि सबै मिलेर लाग्नुपर्नेमा जोड दिएका छन्।
२९ वैशाख, ललितपुर। समालोचक तथा नेपाल भाषा साहित्य र इतिहासका लेखक प्राध्यापक प्रेमशान्ति तुलाधरलाई मातृभाषा राष्ट्रिय सेवा पुरस्कार-२०८२ प्रदान गरिएको छ। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आज मंगलबार ललितपुरमा आयोजित समारोहमा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले प्राध्यापक तुलाधरलाई एक लाख रुपैयाँ नगद सहितको मातृभाषा राष्ट्रिय सेवा पुरस्कार-२०८२ हस्तान्तरण गरेका छन्।
पुरस्कार वितरण समारोहमा सम्बोधन गर्दै आदिवासी जनजाति आयोगका अध्यक्ष थापाले पुरस्कार पाउनका लागि कसैले मात्र मातृभाषामा काम गरेको हुँदैन भनेर मातृभाषामा योगदान गर्ने व्यक्तित्वको सम्मानले मातृभाषाको सम्मान बढ्ने बताए। “अहिलेसम्म धेरै गरिमा बोकेका व्यक्तिहरुले पुरस्कार प्राप्त गरेका छन्, मातृभाषालाई मायालु भएर सम्मान गरेर देशको भाषिक विविधतालाई कायम राख्न हामी सबै क्रियाशील हुनुपर्छ,” उनले भने। उनले सबै जातीय संस्थाहरूले गर्ने मातृभाषाका सम्मान तथा पुरस्कार कार्यक्रमलाई मातृभाषामा नै सञ्चालन गर्नुपर्ने अवस्थाको मांग गरे। आदिवासी जनजाति महासंघका अध्यक्ष निमा लामाले मातृभाषा संरक्षण र सम्बर्द्धनका लागि यस्तो सम्मान महत्वपूर्ण हुने भन्दै मातृभाषाको संरक्षण गरी पहिचान कायम राख्न सबै मिलेर लाग्नुपर्नेमा जोड दिए।






