Skip to main content

तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण प्रक्रिया सुरु

३० वैशाख, दमौली (तनहुँ)। तनहुँको देवघाट गाउँपालिका-४ मा १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजना अन्तर्गत प्रवेश सुरुङको निर्माण कार्य सुरु गरिएको छ। नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको तनहुँ हाइड्रोपावर लिमिटेडले काठमाडौंस्थित आर.के. हाइड्रो इञ्जिनियरिङ एण्ड एशोसिएट्स प्रालिसँग ठेक्का सम्झौता सम्पन्न गरी सुरुङ निर्माणका लागि कार्यारम्भ गरेको छ। विसं २०८० फागुन ७ गते सम्पन्न ठेक्का सम्झौतापछि विस्फोटक पदार्थ प्रयोगका लागि स्वीकृति प्रक्रियामा भएको ढिलाइका कारण निर्माणमा केही समय अवरोध आएको आयोजनाका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिएका छन्। आवश्यक स्वीकृति प्राप्त हुँदा नै सुरुङ निर्माण पुनः सुरु गरिएको उनले बताए।

आयोजना प्रमुख श्रेष्ठका अनुसार, प्रवेश सुरुङ यो जलविद्युत् आयोजनाको मुख्य संरचनाको निर्माणका लागि अत्यन्त आवश्यक भूगर्भीय अध्ययन, अन्वेषण, र पहुँच मार्गको रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। तल्लो सेती जलविद्युत् आयोजना पिकिङ रन अफ द रिभर प्रकृतिको अर्धजलाशययुक्त जलविद्युत् आयोजना हो, जसले वार्षिक ५२० दशमलव ७८ करोड युनिट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ। उनको भनाइमा, आयोजनाको बाँध तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाभित्र सारङघाट नजिक सेती नदीमा निर्माण गरिनेछ, जसको उचाइ ३२ मिटर राखिएको छ र करिब १२ दशमलव ७ किलोमिटर लामो जलाशय सिर्जना हुनेछ।

सञ्चित पानीलाई ६ दशमलव ७५ किलोमिटर लामो सुरुङमार्फत देवघाट गाउँपालिका-४, गाईघाटस्थित अर्धभूमिगत विद्युत गृहसम्म पुर्याउने योजना रहेको उनले जानकारी दिए। श्रेष्ठका अनुसार आयोजनाको विस्तृत परियोजना प्रतिवेदन एसियाली विकास बैंकको अनुदान सहयोगमा तयार गरिएको हो। कुल लागत अनुमानित २२७ मिलियन अमेरिकी डलर रहेको बताउँदै उनले, ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणमार्फत निर्माण गर्ने निर्णय नेपाल विद्युत् प्राधिकरणबाट भइसकेको तथ्य साझा गरे।

त्यस्तै, विद्युत गृह र कर्मचारी आवासका लागि आवश्यक करिब १४६ रोपनी जग्गा अधिग्रहण प्रक्रिया पनि सुरु गरिएको छ। नेपाल विद्युत् प्राधिकरणबाट बजेट विनियोजन पछि उक्त प्रक्रिया अघि बढाइएको छ। आयोजनाको सञ्चालन भए पश्चात् हिउँदयाममा दैनिक कम्तीमा ६ घण्टा १२६ मेगावाट विद्युत उत्पादन सम्भव हुने श्रेष्ठले बताए। उनले थपे, माथिल्लो क्षेत्रमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट निस्कने पानीको पूर्ण उपयोगका लागि तल्लो सेती आयोजना महत्वपूर्ण क्यास्केड आयोजना हो, जसका लागि सरकारले आवश्यक प्राथमिकतामा बजेट व्यवस्था गर्नुपर्ने आवश्यकतालाई औंल्याए।

श्रेष्ठका अनुसार तनहुँ जलविद्युत् आयोजनाका प्रसारण लाइन प्रयोग गर्न सकिने भएपछि अतिरिक्त प्रसारण पूर्वाधार निर्माण आवश्यक नपर्नेछ। साथै, आयोजनाको अवस्थिति काठमाडौँ र भरतपुरजस्ता प्रमुख लोड केन्द्रहरूको नजिक रहेको हुँदा लागत प्रभावकारी र व्यावसायिक रुपमा उपयुक्त छ। ग्रिड कनेक्सन सम्झौता सम्पन्न भइसकेको र विद्युत् खरिद सम्झौता प्रक्रियामा रहेको जानकारी समेत दिए। उनले देवघाट गाउँपालिका-४ स्थित विद्युत गृह तथा कर्मचारी आवास क्षेत्रमा आवतजावत सुनिश्चित गर्न त्रिशूली नदीमाथि पक्की पुल निर्माणको आवश्यकता रहेको उल्लेख गरे। उक्त पुलको अनुमानित लागत करिब रु ३७ करोड रहेको र यो कार्यका लागि बहुवर्षीय बजेट व्यवस्था आवश्यक पर्ने बताइयो।

आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन अन्तिम स्वीकृति प्राप्त गर्न वन मन्त्रालयमा दस्तुर पेश गरिएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोगसँग वित्तीय सहयोगका लागि पहल भइरहेको छ भने एसियाली विकास बैंकले सन् २०२७ मा आयोजनाको कार्यान्वयनका लागि पाइपलाइनमा राखेको जानकारी पनि उनले दिनुभयो।