
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प चीन भ्रमणका लागि बेइजिङतर्फ प्रस्थान गरेका छन्। अमेरिकी राष्ट्रपतिको चीन भ्रमण करिब एक दशकपछि हुन लागेको हो। यो भ्रमण विश्वका दुई सबैभन्दा ठूलो अर्थतन्त्रबीचको सम्बन्धमा निर्णायक क्षण हुने अपेक्षा गरिएको छ। ट्रम्पसँगै अमेरिका का ठूला कम्पनीका कार्यकारीहरू पनि बेइजिङ पुग्दैछन्। बोइङ, सिटी ग्रुप र क्वालकमका कार्यकारीहरू चिनियाँ कम्पनीहरूसँग सम्भावित सम्झौताका लागि जान लागेको बताइएको छ। वाशिङ्टन र बेइजिङबीच व्यापार युद्ध रोकिएको अवस्थामा हुन लागेको यो भ्रमण अर्को परीक्षण पनि मानिएको छ।
सन् २०१८ मा ट्रम्पले विश्वभरिका मित्रदेखि शत्रु राष्ट्र सबैलाई आयात शुल्क लागू गरेका थिए। यस नीतिले अमेरिका र चीनबीचको व्यापार युद्धमा सबैभन्दा ठूलो प्रभाव ल्याएको थियो। अमेरिकी आयात करको जवाफमा चीनले पनि शुल्क लगाउँदा १०० प्रतिशतसम्म कर वृद्धी भयो। अक्टोबरमा ट्रम्प र सी जिनपिङबीच दक्षिण कोरियामा भएको प्रत्यक्ष भेटपछी उक्त शुल्क स्थगित गरिएको थियो। तथापि, दुवै पक्षका धम्कीहरु अझै कायम छन्।
ट्रम्पले सन् २०१६ को चुनाव जित्दा अन्तर्राष्ट्रिय व्यापारलाई न्यायोचित बनाउने र उत्पादन क्षेत्रमा रोजगारी स्वदेशमा फर्काउने वाचा गरेका थिए। सन् २०१८ मा उनले चीनबाट हुने आयातमा २५० अर्ब अमेरिकी डलर बराबरको कर घोषणा गरेका थिए जसलाई धेरैले व्यापार युद्धको शुरुवात मान्दछन्। जोर्जटाउन विश्वविद्यालयकी नीति अनुसन्धानकर्मी निङ लेङका अनुसार, “यो पहिलो पटक थियो जब उनीहरूले गम्भीरतापूर्वक ट्रम्पलाई चुनौती दिए।” ट्रम्पको करका कारण अमेरिकी खरिदकर्ताहरूले विकल्प खोजे भने चीनका कामदारहरूमा जोखिम देखा पर्यो।
ट्रम्पको दोस्रो कार्यकाल शुरु भएपछि २०२५ मा उनले करहरु दोब्बर गर्दै चीनबाट आयात हुने सामग्रीमा २० प्रतिशत आयात शुल्क लगाए। त्यसपछि उनले घोषणा गरेको ‘मुक्ति दिवस’मा ३५ प्रतिशत शुल्क थपेर चीनबाट आयात हुने सामग्रीमा विश्वकै सबैभन्दा धेरै कर लागू गरे। यद्यपि अत्याधुनिक चिप्स सम्बन्धी सामानमा भने यो कर लागू भएन। यसपटकको बैठकमा चीनको स्थिति बलियो छ र अमेरिका सँगको व्यापार कमजोर भएको कारण चीनले विश्वभरिका नयाँ व्यापारिक साझेदारहरूको सहायताले अहिलेसम्मकै उच्च निर्यात हासिल गरेको छ।






