Skip to main content

गोरखाकी सुमित्रा पुडासैनीविरुद्ध ५० लाख रुपैयाँ बिगो सहित भ्रष्टाचार मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० लाख रुपैयाँ घुस प्रकरणमा चन्द्र बहादुर अधिकारी र सुमित्रा कुमारी घिमिरे पुडासैनीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। सुमित्रा कुमारीले आयोगलाई दिएको बयान र अदालतमा दिएको बकपत्रमा भिन्नता देखिएपछि थप अनुसन्धान गरिएको थियो। पुडासैनीले चन्द्र बहादुर अधिकारीले दिएको चेक फिर्ता गरेको र घुस लेनदेनमा सहयोग गरेको पुष्टि भएपछि उनलाई पनि कसूरदार ठहर गरिएको छ। २९ वैशाख, काठमाडौं।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० लाख रुपैयाँ घुस/रिसावत प्रकरणमा विशेष अदालत काठमाडौंमा मंगलबार आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार वादी नेपाल सरकार र प्रतिवादी चन्द्र बहादुर अधिकारी समेत रहेको भ्रष्टाचार मुद्दामा सरकारी साक्षीको रूपमा प्रस्तुत गरिएकी गोरखा बारपाक सुलिकोट गाउँपालिका–७ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका–५ बसोबास गर्ने सुमित्रा कुमारी घिमिरे पुडासैनीले अदालतमा दिएको बकपत्र अनुसन्धानको क्रममा दिएको बयान र आरोप–मागदाबी विपरीत देखिएकाले थप अनुसन्धान गरिएको थियो।

अनुसन्धानका क्रममा पुडासैनीले आयोगमा दिएको बयानको विपरीत विशेष अदालतमा २०८३ साल वैशाख ९ गते बकपत्र दिएको पुष्टि भएको आयोगले जनाएको छ। चन्द्रबहादुर अधिकारीले लिएको घुस रकमको चेक ‘सुमित्रा कस्मेटिक एण्ड फेन्सी’ नामक संस्थाको नाममा काटिएको र उक्त संस्थाकी सञ्चालक पुडासैनीलाई सो चेक प्रदान गरिएको देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाबी गरेको छ। उक्त चेक प्राप्त गरेपछि पुडासैनीले बैंकमा सटहीका लागि प्रयास गरेको तर सटही नपाएपछि चेक फिर्ता गरेको तथ्यसमेत आयोगले खुलासा गरेको छ।

आयोगका अनुसार यसरी घुस लेनदेनमा सहयोग पुर्‍याउने कार्य कसुर भएकाले उनलाई समेत कसूरदार ठहर गरिएको छ। यस प्रकरणमा सुमित्रा पुडासैनीविरुद्ध ५० लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(२) बमोजिम कैद तथा जरिवाना माग गरिएको छ।