Skip to main content

रवि लामिछानेको नेतृत्वमा रास्वपाले महाधिवेशनका लागि मूल आयोजक समिति गठन गर्‍यो

३० वैशाख, काठमाडौं। रास्वपाले सभापति रवि लामिछानेको नेतृत्वमा महाधिवेशनको मूल आयोजक समिति गठन गरेको छ। बुधबार बिहान बसेको केन्द्रीय समिति बैठकले असार ७ देखि ९ गतेसम्म चितवनमा पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ। यसका लागि सभापतिको नेतृत्वमा मूल आयोजक समिति गठन गरिएको जानकारी संसदीय दलका उपनेता गणेश पराजुलीले दिएका छन्। ‘सिंगो केन्द्रीय समिति नै आयोजक समिति बनेको छ। महाधिवेशन तयारीका लागि विभिन्न उपसमितिहरू पनि गठन भइसकेका छन्,’ उनले बताएका छन्।

रास्वपाले समिति गठन नभएका वडाहरूको भेला जेठ २ गते बोलाएको छ। वैशाख २० गतेअघि वडा समिति गठन गरिसकेका स्थानहरूको वडा अधिवेशन मिति जेठ ३ गते तोकिएको छ। तदर्थ समिति गठन नभएका पालिकाहरूको भेला जेठ ९ गतेका लागि समय निर्धारण गरिएको छ। वैशाख २५ गतेअघि पालिका समिति गठन गरिसकेका स्थानहरूको अधिवेशन समय जेठ १० गते तोकिएको छ। जेठ ३ गतेसम्म वडा समिति बनेका स्थानहरूको अधिवेशन जेठ १६ गते तोकिएको छ। जेठ १० गतेअघि पालिका समिति बनेकाहरूको हकमा पालिका अधिवेशन जेठ १७ गते तोकिएको छ। जेठ २३ र २४ गते जिल्ला अधिवेशन हुने निर्णय यसअघि सचिवालय बैठकले गरेको थियो।