
३० वैशाख, काठमाडौं । आफ्नै छोरीको कक्षा ११ र १२ को नकली ट्रान्स्क्रिप्ट बनाएको आरोपमा अदालतबाट एक वर्ष कैद सजाय पाएर फरार रहेका व्यक्ति पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, नेपाल प्रहरीले ललितपुर महानगरपालिका–३ निवासी ६१ वर्षीय क्रोडी फ्रेन्च क्षेत्री भनेर चिनिने फरदिनान्द भ्यालेन्टाइन फेट्जलाई नियन्त्रणमा लिएको छ।
उनी आफ्नै छोरीको कक्षा ११ र १२ उतीर्ण गरेको नकली ट्रान्स्क्रिप्टसहित अन्य कागजातहरू बनाएको आरोपमा उच्च माध्यमिक शिक्षा परिषद् परीक्षा नियन्त्रण कार्यालयले उनीविरुद्ध जाहेरी दिएको थियो, जसको आधारमा प्रहरीले अनुसन्धान गरेको छ। सरकारी छाप तथा दस्तखतहरुको किर्ते सम्बन्धमा भक्तपुर जिल्ला अदालतले २०८२ साल वैशाख ३ गते उनलाई एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना सजाय सुनाएको थियो, प्रहरी स्रोतले जानकारी दिएको छ।
लगभग एक वर्षसम्म फरार रहेका उनी मंगलबार काठमाडौंको तिलगंगा क्षेत्रबाट पक्राउ परेका छन्, सो जानकारी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दिएको छ।






