
३० वैशाख, डोटी। डोटीमा आफ्नै बोकेको भरुवा बन्दुक अचानक पड्किएपछि एक व्यक्ति गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जोरायल गाउँपालिका–४ बगर बस्ती निवासी २५ वर्षीय करणबहादुर दर्लामी घाइते भएका हुन्। प्रहरीका अनुसार दर्लामी घरबाट बन्दुक लिएर घर नजिकैको पिनाकेश्वर सामुदायिक वनतर्फ जाँदै गर्दा लडेका थिए। त्यस क्रममा उनीसंग बोकेको बन्दुक पड्कियो र दाहिने छातीमा छर्रा लाग्यो। छर्राले उनको पिठ्यूँसम्म छेड्ने चोट पुर्याएको प्रहरीको भनाइ छ। उनलाई धनगढीमा उपचारका लागि राखिएको छ र उनको अवस्था गम्भीर रहेको जनाइएको छ।






