Skip to main content

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेइजिङ पुगे, समकक्षी सी जिनफिङसँग वार्ता गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीन दिने भ्रमणका लागि चीनको राजधानी बेइजिङमा पुगेका छन्। ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनफिङसँग द्विपक्षीय सम्बन्ध र विश्व शान्तिको विषयमा गहिरो विचारविमर्श गर्ने चीनको विदेश मन्त्रालयले जनाएको छ। दुई महाशक्तिका राष्ट्रप्रमुखबीचको यो भ्रमणलाई विश्वव्यापी रूपमा चासोका साथ हेरिएको छ।

ट्रम्प बुधबार साँझ बेइजिङ पुगेका हुन्, जहाँ उनीहरुलाई चिनियाँ उपराष्ट्रपति हान झेङले स्वागत गरे। यो ट्रम्पको करिब नौ वर्षपछि पहिलो चीन भ्रमण तथा नोभेम्बर २०१७ पछिको दोस्रो चीन भ्रमण हो। चीनमा बसाइको क्रममा ट्रम्पले समकक्षी सी जिनफिङसँग बैठक गर्नेछन्। चीनको विदेश मन्त्रालयका अनुसार, द्विपक्षीय सम्बन्ध, विश्व शान्ति र विकाससँग सम्बन्धित मुख्य विषयहरूमा गहिरो छलफल हुनेछ।

वार्तामा व्यापार, ताइवान, कृत्रिम बुद्धिमत्ता र इरानसँग सम्बन्धित युद्ध विषय मुख्य एजेन्डा रहने अपेक्षा गरिएको छ। मंगलबार ट्रम्पले आफूले सीसँग इरानबारे ‘लामो छलफल’ गर्ने बताएका थिए। यद्यपि, भ्रमणको मुख्य फोकस व्यापार नै हुनेछ भन्ने उनले स्पष्ट पारेका थिए। ट्रम्प करिब एक दशकपछि चीन भ्रमणमा गएका हुनाले यसलाई विशेष महत्व दिइएको छ।