
विकास निर्माण आयोजना समयमै सम्पन्न गर्न नसक्दा समस्या बढेको छ र सरकारले सार्वजनिक खरिद ऐनमा संशोधन गरेको छ। संशोधित ऐनले ३० प्रतिशतभन्दा कम मूल्यको बिडलाई ‘एबनर्मल’ मान्ने प्रावधान राखेको छ, जसले लो प्राइस बिडिङ रोक्ने उद्देश्य राख्दछ। एभरेज बिड मेथड लागू गर्न सुझाव दिइएको छ, जसले विवादरहित ठेक्का वितरण र गुणस्तरीय निर्माण सुनिश्चित गर्नेछ। विकास निर्माणका साना र ठूला आयोजना समयमै सम्पन्न नहुँदा सर्वसाधारण मर्कामा छन्। गत फागुन २१ गते भएको निर्वाचनमा यो विषय प्रमुख चुनावी एजेन्डा बन्यो। चुनावमा सहभागी उम्मेदवारहरूले आयोजना समयमै नबन्नुका समस्याबारे अन्तरविरोधी धारणा व्यक्त गरेका थिए। विशेष गरी तत्कालीन प्रधानमन्त्रीका उम्मेदवार नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले यस विषयमा ध्यानाकर्षण गरेका थिए।
सरकारका आयोजनाहरू समयमै सम्पन्न नहुँदा सरोकारवाला पक्षको खराब नियत र केही कानुनी अवरोधहरू रहेका कारण कानूनमा संशोधन गर्न आवश्यक रहेको गगन थापाले औँल्याए। अर्कोतिर, बालेन्द्र शाहले भने, ‘२ वर्षमा बन्नुपर्ने बाटो २० वर्षसम्म बन्दैन। डेढ वर्षमा बन्नुपथ्र्यो। रूखमा बाँधेर होस् कि बाटोमा सुताएर, खोरमा राखेर होस्, बाटो बन्नुपर्छ।’ निर्वाचनतर्फबाट मतदाताले रास्वपा पक्षलाई बलियो जनमत प्रदान गरे। करिब दुई तिहाइ बहुमत लिएर बालेन्द्र शाह प्रधानमन्त्री बनेका छन्। सरकारले विकास निर्माणलाई गति दिन सार्वजनिक खरिद ऐनमा संशोधन गरेको छ। यो सकारात्मक पहल हो, तर समस्याको समाधानका लागि अध्यादेश ल्याइएको हो, त्यो पूर्ण रूपमा समाधान हुनेमा प्रश्न उठेको छ।
नेपालको ठेक्का प्रणालीमा केही मूल बाधाहरू देखिन्छन्। तीमध्ये पहिलो न्यूनतम मूल्यमा बिड लगाउनु, निर्माण व्यवसायीसँग पर्याप्त पूँजीको अभाव, सरकारले समयमा डिजाइन वा ड्रइङ स्वीकृत नदिनु, र बजेट सुनिश्चित नभएर ठेक्का सम्झौता हुनु हुन्। यी समस्याहरू केही हदसम्म समाधान गरेमा निर्माण समयमा सम्पन्न नहुनु कम हुन सक्छ। हालै संशोधित सार्वजनिक खरिद ऐनले निर्माण क्षेत्रमा दीर्घकालीन ढिलाइ र लो प्राइस बिडिङ हटाउन प्रयास गरेको छ। निर्माण थालनीका लागि बजेट सुनिश्चितता, स्थलको पूर्ण क्लिनिङ र उपलब्धता, मुआब्जा वितरण, र वातावरणीय अनुमोदनपछि मात्र ठेक्का खोल्न सकिने व्यवस्था गरिएकोले निर्माण कार्य रोकथाम क्रमशः कम हुँदै जान्छ। तर यो व्यवस्था पहिले पनि थियो र हालको व्यवस्था अघिल्लो भन्दा फरक छैन।






