
सिरहाको लहानस्थित प्रादेशिक अस्पतालमा जडान गरिएको सीटी स्क्यान मेसिन जनशक्ति अभावका कारण सञ्चालनमा आउन सकेको छैन। अस्पतालमा सीटी स्क्यान सेवा सञ्चालन गर्न रेडियोलोजिस्ट, रेडियो प्राविधिक र सहयोगी कर्मचारी आवश्यक पर्ने अस्पताल प्रशासनले जनाएको छ। अस्पताल प्रमुख डा. वर्षा प्रकाशले आवश्यक जनशक्ति व्यवस्थापनका लागि प्रदेश मन्त्रालयसँग समन्वय भइरहेको बताउनुभयो। ३१ वैशाख, सिरहा।
सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा जडान गरिएको सीटी स्क्यान मेसिन जनशक्ति अभावका कारण सञ्चालनमा आउन सकेको छैन। २१ वैशाखमा हतार–हतार सीटी स्क्यान सेवा उद्घाटन गरिएको थियो। तर मेसिन चलाउने दक्ष प्राविधिक नहुँदा सेवा पूर्ण रूपमा ठप्प छ। करोडौँ रुपैयाँ लागतमा जडान गरिएको सीटी स्क्यान मेसिन प्रयोगविहीन हुँदा बिरामीलाई मर्का परेको छ। तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रञ्जित झाले आफ्नो सरुवा हुनुअघि जनशक्ति व्यवस्थापन नै नगरी हतारमा सीटी स्क्यान सेवा उद्घाटन गरेको आरोप कर्मचारीहरूको छ।
उद्घाटन भएको हप्तौँ बितिसक्दा पनि बिरामीले सेवा पाउन नसकेपछि अस्पताल प्रशासनमाथि प्रश्न उठ्न थालेको छ। अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष रामनारायण मेहताले मेसिन भएर पनि सेवा दिन नसक्नु दुःखद भएको बताए। उनले भने, ‘पूर्व–पश्चिम राजमार्ग नजिकै रहेको यस प्रादेशिक अस्पतालमा बिरामीको चाप अत्यधिक छ। सर्वसाधारणलाई सस्तो र सहज रूपमा विशेषज्ञ सेवा उपलब्ध गराउन ठूलो प्रयासपछि मेसिन ल्याइयो। तर सञ्चालन गर्ने प्राविधिक नहुँदा अहिले अप्ठ्यारो स्थिति बनेको छ।’
अस्पताल प्रशासनका अनुसार सीटी स्क्यान सेवा सञ्चालन गर्न कम्तीमा एक जना रेडियोलोजिस्ट, एक जना रेडियो प्राविधिक र एक जना सहयोगी कर्मचारी आवश्यक पर्छ। हालै कार्यभार सम्हालेकी अस्पताल प्रमुख (मेसु) डा. वर्षा प्रकाशले आवश्यक जनशक्ति व्यवस्थापनका लागि प्रदेश मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिइन्। उनका अनुसार मधेश प्रदेशभर नै दक्ष रेडियोलोजिस्टको अभाव रहेकाले तत्काल कर्मचारी उपलब्ध हुने निश्चित छैन। ‘हामीले मन्त्रालयसँग निरन्तर ताकेता गरिरहेका छौँ। तर प्रदेशमै विशेषज्ञ जनशक्ति अभाव भएकाले कहिलेसम्म कर्मचारी पठाइन्छ भन्ने टुंगो छैन,’ उनले भनिन्।
मन्त्रालयबाट जनशक्ति पठाउने अनिश्चित बन्दै जाँदा सेवा कहिलेदेखि सञ्चालनमा आउँछ भन्नेमा अस्पताल प्रशासन आफैँ अन्योलमा परेको छ। मधेश प्रदेशमा कर्मचारी समायोजनमार्फत वरिष्ठ रेडियोलोजिस्ट डा. बृजेन्द्रकुमार साहलाई यो अस्पतालमा आएका थिए। उनी लहानकै स्थानीयसमेत हुन्। यसअघि निमित्त मेसुका रूपमा कार्यरत रहेका साहलाई गत माघ २ गते प्रदेश मन्त्रालयले डा सर्लाहीको मलंगवास्थित प्रादेशिक अस्पतालमा सरुवा गर्यो। आफ्नो विशेषज्ञता अनुसारको जिम्मेवारी नपाएको भन्दै उनी हाल घर बिदामा बसेको स्रोत बताउँछ। यता, अस्पतालमा भने विशेषज्ञ अभावकै कारण सीटी स्क्यान सेवा सुरु हुन सकेको छैन।
तत्कालीन मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहको कार्यकालमा आर्थिक वर्ष २०८१/८२ मा करिब १२ करोड रुपैयाँ लागतमा दुई वटा सिटी स्क्यान मेसिन खरिद गरिएको थियो। तीमध्ये एउटा जनकपुरस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र अर्को लहान अस्पतालमा जडान गरिएको तत्कालीन प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका महानिर्देशक डा. सुनिलप्रसाद कुशवाहाले जानकारी दिए। लामो प्रयास र ठूलो लगानीपछि ल्याइएको मेसिन जनशक्ति व्यवस्थापनमा देखिएको कमजोरीका कारण प्रयोगविहीन भएको हो। राजमार्ग क्षेत्रमा हुने दुर्घटना तथा जटिल रोगका बिरामी अहिले पनि महँगो शुल्क तिरेर निजी अस्पताल वा विराटनगर तथा काठमाडौं धाउन बाध्य छन्।






