
समाचार सारांश डकुमेन्ट्री माटोदेखि मैदानसम्मले नेपाली कबड्डीको इतिहास र माओवादी जनयुद्धताका ११ वर्षको कठिन अवस्थालाई समेटेको छ। नेपाल कबड्डी लिग दोस्रो सिजन जेठ २२ देखि दशरथ रंगशालास्थित राखेप कभर्ड हलमा ६ सहरका ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ। एनकेएल एन्थम सार्वजनिक गर्दै एनकेएल, कबड्डी र व्यवसायिकता विषयमा प्यानल छलफल पनि गरिएको थियो। ३१ वैशाख, काठमाडौं । नेपाली कबड्डीको इतिहास समेट्दै तयार पारिएको डकुमेन्ट्री ‘माटोदेखि मैदानसम्म’ बुधबार स्क्रिनिङ गरिएको छ। नेपाल कबड्डी लिग दोस्रो सिजनको तयारीका क्रममा एनकेएल एन्थम समेत सार्वजनिक गरिएको छ। लबिम मल, पुल्चोकस्थित क्यूएफएक्समा आयोजित कार्यक्रममा स्क्रिनिङ गरिएको उक्त डकुमेन्ट्रीले भगवान् गौतम बुद्धले ‘हूतुतु’ खेल्ने क्रममा कबड्डी खेलेको इतिहासलाई पनि प्रस्तुत गरेको छ।
निशान शाही निर्देशित डकुमेन्ट्रीमा २०३४ सालमा स्थापना भएको अखिल नेपाल कबड्डी संघ, दुई वर्षपछि सुरु भएको राष्ट्रिय प्रतियोगिता, साथै माओवादी जनयुद्धका कारण ११ वर्षको प्रतियोगिताहीन कठिन कालखण्डलाई देखाउने प्रयास गरिएको छ। त्यस्तै ढाका, बंगलादेशमा भएको ११ औं दक्षिण एसियाली खेलकुद (साग २०१०) मा नेपाली कबड्डी टोलीले प्राप्त गरेको ऐतिहासिक पदक, नेपालमै आयोजना गरिएको १३ औं साग २०१९ र ढाकामा सम्पन्न चौथो बंगबंधु कपका उपलब्धि, चीनमा महिला टोलीले हात पारेका १९ औं एसियाली खेलकुद २०२२ र छैटौँ एसियन बीच गेम्स २०२६ का ऐतिहासिक कांस्य पदकलाई डकुमेन्ट्रीले सकारात्मक पक्षको रूपमा समेटेको छ। डकुमेन्ट्रीमा माटोदेखि मैदानसम्मको रुपान्तरणलाई संघर्ष र सफलता को कथा रूपमै चित्रण गरिएको छ। एक घण्टे लामो यो डकुमेन्ट्रीले गत वर्ष एनकेएलको शुरुवातसँगै पुनरुत्थानको युगको आरम्भलाई स्पष्ट पारेको छ।
एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले प्रस्तुत गरेको यस डकुमेन्ट्रीको एक्जिक्युटिभ प्रोड्युसर अमितकुमार बेगानी, प्रोड्युसर प्रवीन कुमार साह, सम्पादक सुमन खड्का र क्रिएटिभ सम्पादक असिम श्रेष्ठ रहेका छन्। डकुमेन्ट्रीको स्क्रिनिङपछि र्यापर भियोमाले तयार गरेको एनकेएलको एन्थमसमेत सार्वजनिक गरिएको थियो। कार्यक्रममा ‘एनकेएल, कबड्डी र व्यवसायिकता’ विषयमा प्यानल छलफल पनि सम्पन्न भयो, जहाँ पत्रकार राजु घिसिङ मोडरेटर थिए। प्यानलमा एस्ट्रोनिक्स म्यानेजमेन्टका अध्यक्ष अमितकुमार बेगानी, अखिल नेपाल कबड्डी संघका अध्यक्ष तुलसी थापा र राष्ट्रिय खेलकुद परिषदका प्रमुख प्रशिक्षक (कबड्डी) पार्वती राई सहभागी थिए। नेपाल कबड्डी लिग (एनकेएल) दोस्रो सिजन जेठ २२ (जुन ५) मा सुरु हुँदैछ, जसमा ६ सहरका ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। ती टोलीहरुले ‘प्लेयर्स ड्राफ्ट’ मार्फत् देशी ५४ र विदेशी ३० गरी ८४ खेलाडी अनुबन्ध गरिसकेका छन्। दशरथ रंगशालास्थित राखेप कभर्ड हल, त्रिपुरेश्वरमा हुने एनकेएल सिजन २ मा विराटनगर बाहुबली (कोशी प्रदेश), डिफेन्डिङ च्याम्पियन जनकपुर नाइट्स (मधेश प्रदेश), काठमाडौं माभरिक्स (बाग्मती प्रदेश), पोखरा लेकर्स (गण्डकी प्रदेश), बुटवल बुल्स (लुम्बिनी प्रदेश) र धनगढी वाइल्डक्याट्स (सुदूरपश्चिम प्रदेश) ले प्रतिस्पर्धा गर्नेछन्। पहिलो सिजनको रोमाञ्चक फाइनलमा काठमाडौं माभरिक्सलाई पराजित गर्दै जनकपुर नाइट्स च्याम्पियन भएको थियो।






