माउन्टेन ड्यु सेवन गरेपछि उपभोक्ता बिरामी, प्रयोगशालाको रिपोर्ट नआएसम्म बिक्रीमा रोक

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं तारकेश्वरका उपभोक्तामा माउन्टेन ड्यु पिउनासाथ बान्ता हुने घटनापछि बरुण बेभरेज (नेपाल) प्रालिमा अनुगमन सुरु गरेको छ। विभागले ब्याच नम्बर १६८, उत्पादन मिति ०३/०४/२६ को माउन्टेन ड्युमा समस्या देखिएपछि नमुना संकलन गरी प्रयोगशालामा परीक्षणका लागि पठाएको छ। बरुण बेभरेजलाई उक्त ब्याचको कच्चापदार्थ विवरण र खाद्य स्वच्छता अभिलेख ५ दिनभित्र पेश गर्न र बिक्री वितरण रोक्न निर्देशन दिइएको छ। ३१ वैशाख, काठमाडौं।
काठमाडौं तारकेश्वर नगरपालिका क्षेत्रका उपभोक्ताले माउन्टेन ड्यु पिउँदा बान्ता भई बिरामी परेको घटना सार्वजनिक भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उत्पादक कम्पनीमा कडा अनुगमन र कारबाही शुरू गरेको छ। सामाजिक सञ्जालमा उक्त घटनाको भिडियो सार्वजनिक हुनासाथ विभागको ‘र्यापिड रेस्पोन्स टिम’ ले तत्काल माउन्टेन ड्यु उत्पादक कम्पनी बरुण बेभरेज (नेपाल) प्रालिमा अनुगमन गरी छानबिन प्रक्रिया अघि बढाएको हो। अनुगमनका क्रममा पाइएको पेय पदार्थ उपभोक्ताले सेवन गरेको ब्याच नम्बर १६८ र उत्पादन मिति ०३/०४/२६ को २५० मिलिलिटर प्याकको माउन्टेन ड्यु रहेको पुष्टि भयो।
उद्योगको गोदाम निरीक्षण गर्दा त्यो ब्याचको १ क्रेट (२४ बोतल) मात्र बाँकी रहेको र अन्य उत्पादनहरू पहिल्यै बजारमा वितरण भइसकेको फेला परेको छ। ब्याच उत्पादनमा समस्या देखिएपछि विभागले थप अनुसन्धानका लागि उक्त गोदामबाट नमुना संकलन गरी प्रयोगशालामा परीक्षणका लागि पठाएको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार विभागले बरुण बेभरेजलाई उक्त ब्याचमा प्रयोग भएको कच्चा पदार्थको विस्तृत विवरण र खाद्य स्वच्छता सम्बन्धी सम्पूर्ण अभिलेख ५ दिनभित्र पेश गर्न निर्देशन दिएको छ। साथै, प्रयोगशालाको अन्तिम विश्लेषण प्रतिवेदन आए नआएसम्म ब्याच नम्बर १६८ को कुनै पनि उत्पादन बिक्री वा वितरण नगर्न र सम्बन्धित डिलरहरूलाई पनि यसको जानकारी गराउन विभागले कम्पनीलाई निर्देशन दिएको छ।






