Skip to main content

ई स्पोर्ट्सको तेस्रो राष्ट्रिय प्रतियोगिता असारको पहिलो साता हुँदैछ

ई स्पोर्ट्स संघ नेपालले असार ५ गते तेस्रो राष्ट्रिय ई स्पोर्ट्स प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। प्रतियोगितामा फ्रि फायर, पब्जी मोबाईल र ई फुटबल गरी तीन खेल विधाहरू समावेश हुने जानकारी संघले दिएको छ। प्रतियोगितामा ५ हजारभन्दा बढी खेलाडी तथा टिम सहभागी हुने अपेक्षा गरिएको छ।

३१ वैशाख, काठमाडौं। ई स्पोर्ट्स संघ नेपाल (ईशान)को आयोजनामा तेस्रो राष्ट्रिय ई स्पोर्ट्स प्रतियोगिता असारको पहिलो साता आयोजना हुँदैछ। संघले बिहीबार प्रेस रिलिजमार्फत तेस्रो संस्करणको प्रतियोगिता असार ५ गते आयोजना हुने घोषणा गरेको हो।

प्रतियोगितामा फ्रि फायर, पब्जी मोबाईल र ई फुटबल गरी तीन खेल विधाहरू समावेश हुने जानकारी संयोजक प्रकाश घर्तिले दिएका छन्। छनोट खेलहरू अनलाइन विधिबाट सञ्चालन हुनेछन् भने फाइनल खेल ल्यान ईभेन्टको रूपमा गरिनेछ। प्रतियोगिता अन्तर्गत ई फुटबलमा व्यक्तिगत रूपमा तथा फ्रि फायर र पब्जी मोबाईलमा टिमको रूपमा सहभागिता सम्भव रहेको संयोजक घर्तिले बताए। खेल्न इच्छुक खेलाडी तथा टिमहरूले ईशानको वेबसाइटमार्फत दर्ता गर्न सक्नेछन्।