Skip to main content

सर्लाहीमा ईँटाभट्टाको पर्खाल खसेर तीन मजदुरको मृत्यु, दुई घाइते

सर्लाहीको हरिपुर नगरपालिका–५ कृष्ण ईँटा उद्योगमा चाङ खस्दा तीन मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेहरूमा गोडैता नगरपालिका–७ का ५० वर्षीय फिताई मन्सुर, गोडैता–९ का ३५ वर्षीय शम्भु राउत र भारतको लखिमपुरका ३५ वर्षीय अंगद कुमार रहेका छन्। प्रहरीले साँझ ६:३० बजे उद्धार गरी घाइतेहरूलाई प्रादेशिक अस्पताल मलंगवामा पठाएको र जेसीबीमार्फत खोज तथा पन्छाउने कार्य भइरहेको जनाएको छ।

१ जेठ, जनकपुरधाम। सर्लाहीको हरिपुर नगरपालिका–५ स्थित कृष्ण ईँटा उद्योगमा ईँटा निकाल्ने क्रममा पर्खाल खसेर तीन मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय हरिपुरका अनुसार शुक्रबार साँझ करिब ६ बजे कौडेना बजार निवासी बिरेन्द्र चौधरीको कृष्ण ईँटा उद्योगबाट ईँटा निकाल्ने क्रममा पर्खाल खसेर मजदुरहरू पुरिएका थिए।

मृत्यु हुनेहरूमा गोडैता नगरपालिका–७ रामवन निवासी ५० वर्षीय फिताई मन्सुर, गोडैता नगरपालिका–९ निवासी ३५ वर्षीय शम्भु राउत र भारतको लखिमपुर निवासी ३५ वर्षीय अंगद कुमार रहेको प्रहरीले जनाएको छ। अस्पतालमा चिकित्सकले परीक्षण गर्दा उनीहरूलाई मृत घोषित गरिएको थियो। सोभन्दा बाहेक मलंगवा नगरपालिका–७ निवासी ३२ वर्षीय तुलसी महतो र ५२ वर्षीय सत्यनारायण महतो घाइते भएका छन्। तुलसी महतोको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ भने सत्यनारायण महतो स्थानीय क्लिनिकमा उपचाररत रहेको प्रहरीले जनाएको छ।

सर्लाही प्रहरीले साँझ ६:३० बजे सूचना पाएपछि घटनास्थल पुगेको र तत्काल उद्धार गरी घाइतेहरूलाई प्रादेशिक अस्पताल मलंगवा पठाएको जनाएको छ। घटनास्थलमा जेसीबीमार्फत थप खोज तथा पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।