मुग्लिन सडकखण्डमा ‘लिडार स्पिड गन’ प्रयोग गरी तीव्र गतिमा सवारी चलाउने चालकलाई कारबाही

२ जेठ, मुग्लिन (चितवन) । ट्राफिक प्रहरीले तीव्र गतिमा सवारीसाधन चलाउने चालकहरूको विरुद्ध कारबाही गर्न थालेको छ। दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर चितवनले नारायणगढ–मुग्लिन सडकखण्डमा ‘लिडार स्पिड गन’ प्रविधिको प्रयोग सुरु गरेको छ। जोखिमयुक्त क्षेत्रको रुपमा चिनेको रामनगर–जुगेडी क्षेत्रको जङ्गल वरिपरि दैनिक रुपमा जाँच अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी चलाउने चालकहरूलाई नियन्त्रणमा लिन थालेको छ। सडक दुर्घटनाको प्रमुख कारण तीव्र गति रहेको पुष्टि भएपछि आधुुनिक प्रविधिको प्रयोग बढाइएको कार्यालय प्रमुख डिल्लीनारायण पाण्डेले जानकारी गराएका छन्। बर्खायामसँगै सडक दुर्घटनाको जोखिम बढ्ने भएकाले यो प्रणाली प्रभावकारी हुने अपेक्षा गरिएको छ। पहिलो दिनमै मापदण्ड विपरीत तीव्र गतिमा सवारी चलाउने ६० भन्दा बढी चालकहरूलाई कारबाही गरिएको कार्यालय प्रमुख पाण्डेले बताए। कर्णाली प्रदेशका सबै १० जिल्लाका सडक दुर्घटना बढी हुने सडकखण्डहरूमा पनि क्रमशः नियमित जाँच गर्ने उहाँले बताउनुभयो।






