
२ जेठ, काभ्रेपलाञ्चोक। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-३ गंजेखोलाबाट ५६ लाख ७० हजार बराबरको १६२० थान भेपसहित सात जनालाई पक्राउ गरिएको छ। जेठ १ गते राति ९:३० बजे इलाका प्रहरी कार्यालय कोदारीबाट प्रहरी निरीक्षक जगतबहादुर राईको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो। चीनबाट भोटेकोशी-३ बोक्चेन हुँदै अरनिको राजमार्ग १० किलोमिटर नजिकने भित्रिबाटोबाट लुकाएर ल्याइएको भेप फेला परेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। ९ वटा बोरा भरेको कार्टुनभित्र लुकाएर भेप ल्याउँदै गरेको अवस्थामा उनीहरू पक्राउ परेको इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक राईले जानकारी दिए।
राईका अनुसार सिन्धुपाल्चोकको भोटेकोशी-४ का वर्ष ३५ का गणेश खड्का, वर्ष ४६ का हिमाल खड्का, वर्ष २४ का विकास बि.क, वर्ष ४८ का रामबहादुर बि.क, वर्ष १७ का विशाल रक्पाल, वर्ष ३७ का मंगलबहादुर थामी र बाह्रबिसे नगरपालिका-५ का वर्ष ४२ का कान्छा तामाङ हुन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय कोदारीमा ल्याइ राखिएको प्रहरीले जनाएको छ। नेपाल–चीन सीमास्थित तातोपानी नाकाबाट पछिल्लो एक महिनादेखि यात्रु शाखाबाट कुनै पनि खाद्य सामग्री ल्याउन अनुमति दिइएको छैन। तातोपानी भन्सार कार्यालयले मितेरीपुलस्थित यात्रु शाखाबाट खाद्य तथा प्लान्ट क्वारेन्टाइन अनुमति नभएका सामग्री ल्याउन रोक लगाएपछि सीमावर्ती क्षेत्रको झोलेपोके व्यापार ठप्प भएको छ। बिहान सबेरै चिनियाँ बजार झामु पुगेर बेलुका झोलाभरि सामान लिएर फर्किने स्थानीयको चहलपहल सरकारी नियम लागू भएपछि रोकिने भएको छ।






