Skip to main content

नेपाली क्रिकेटरहरू किन अन्तिम समयमा दबाब झेल्न चुकिरहेका छन्?

फेरि एक पटक उस्तै घटना दोहोरियो। आईसीसी क्रिकेट विश्वकप लीग २ को स्कटल्यान्डविरुद्धको खेलमा गुलशन झाले अन्तिम समयमा दबाव झेल्न नसक्दा नेपाल दुई रनले पराजित हुन पुग्यो। संयोग के रह्यो भने पछिल्ला केही ठूला अन्तर्राष्ट्रिय हार बेहोरेको खेलमा क्रिजमा गुलशन झा नै थिए। त्यसैले गुलशनको चर्चा फेरि चुलिएको छ। उनलाई आलोचना गर्ने वा सान्त्वना दिने दुवै प्रकारका समर्थकहरूले अहिले बहस गरिरहेका छन्।

हुन त क्रिकेटको मजा नै त्यही हो। प्रायः अन्तिम ओभरसम्म पुगेको खेल हेर्नुको मजा नै बेग्लै हुन्छ। यद्यपि बारम्बार चुक्दा प्रश्न उठेको छ- नेपाली खेलाडीहरू ठूला टिमविरुद्ध दबाव झेल्न किन सकिरहेका छैनन्? राष्ट्रिय टोलीका पूर्वखेलाडी दीपेन्द्र चौधरी भन्छन्, “खेलाडीले त्यति बेला के निर्णय लिन्छन्, त्यही नै महत्त्वपूर्ण हुन्छ। यो ‘निर्णय क्षमता’ को कुरा हो।” नेपाली खेलाडीहरूको दबाव झेल्न सक्ने वा नसक्ने र दबावका बेला निर्णय लिन सक्ने विषयमा कहाँ चुकिरहेका छन्, त्यो अहिले मुख्य बहसको विषय बनिरहेको छ।

गुलशनको संयोग सुरुमा तीन ठूला खेलको कुरा गरौँ। सन् २०२४ को अमेरिका/वेस्ट इन्डिज टी २० विश्वकपमा दक्षिण अफ्रिकासँगको १ रनको हार त नेपाली क्रिकेट प्रेमीहरूले कहिल्यै बिर्सन नसक्ने घटना बन्यो। त्यति बेला क्रिजमा गुलशन थिए। एक रन लिन सक्ने अवस्था हुँदा पनि त्यो ‘अत्यन्त तनावको क्षण’ मा उनी चुक्न पुगेका थिए। दुई महिनाअगाडि मुम्बई टी २० विश्वकपमा इङ्ल्यान्डसँगको ४ रनको हार अर्को ठूलो नमुना बन्यो, जहाँ लोकेश बमले अन्तिम समयमा दबाव झेल्न सकेनन्। त्यहाँ करण केसीले स्ट्राइक लोकेशलाई दिन रुचाए भने अघिल्लो बलमा गुलशन झा बोल्ड हुन पुगेका थिए।