
२ जेठ, चितवन। चितवनको माडी नगरपालिका-५ बसन्तपुरस्थित पिसल्याण्ड इङ्लिश स्कूलमा १४ वर्षका एक विद्यार्थीलाई शिक्षकले नीलडामहरू पर्ने गरी कुटपिट गरेको घटना सार्वजनिक भएको छ। विद्यालयको कक्षा ८ का विद्यार्थी दीपसन লम्साललाई विज्ञान विषयका शिक्षक विश्व अवतार घलेले पाइप प्रयोग गरी कुटपिट गरेका छन्। कुटपिटबाट घाइते बालकको बघौडा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ।
पीडित परिवारका अनुसार शुक्रबार अन्तिम पिरियड सुरु हुनुअघि दीपसन आफ्ना दुई साथीहरूसँग पिसाब फेर्न कक्षाबाहिर निस्किएका थिए। उनीहरू जब कक्षामा फर्किए, शिक्षक घले पहिले नै त्यहाँ पुगिसकेको थिए। शिक्षकले विद्यार्थीहरू कक्षाबाहिर रहेकाको थाहा पाएपछि कुटपिट गरेको परिवारले बताएका छन्। घलेले ती तीनै जना विद्यार्थीलाइ कुटेका थिए।
पीडितकी आमा पद्माकुमारी लम्सालले छोरा शरीरमा नील डाम र चोटपटक देखेपछि विद्यालय प्रशासनलाई जानकारी गराए पनि बेवास्ता भएको गुनासो गरिन्। परिवारले इलाका प्रहरी कार्यालय माडिमा उजुरी दर्ता गराएको छ। इलाका प्रहरी कार्यालय माडिका वरिष्ठ प्रहरी नायब निरीक्षक नारायण जोशीले घटनाबारे उजुरी प्राप्त भइसकेको र दुवै पक्षलाई बोलाएर आवश्यक कानुनी अनुसन्धान प्रक्रिया अघि बढाइने जानकारी दिए। उनले आज दिउँसो छलफलपछि निर्णय गरिने बताए।






