
२ जेठ, कैलाली। धनगढीमा ‘सुदूरपश्चिम कचहरी, २०८३’ कार्यक्रम प्रारम्भ भएको छ। सुदूरपश्चिम विकास फाउन्डेसनको आयोजनामा र प्रदेश नीति तथा योजना आयोगको समन्वयमा दुई दिनसम्म चल्ने गरी सुरु गरिएको उक्त कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गर्नुभएको छ। मुख्यमन्त्री शाहले समृद्ध सुदूरपश्चिम निर्माणका लागि युवालाई रोजगारी र आयआर्जनमा जोड दिन आवश्यक रहेको बताएका छन्। उहाँले प्रदेशका उपलब्ध सम्भावनालाई उपयोग गर्नुपर्ने र सीमित स्रोतसाधनका बाबजुद जनताको आवश्यकताहरू सम्बोधन गर्न स्पष्ट र कार्यान्वयनयोग्य योजना आवश्यक रहेको उल्लेख गर्नुभएको छ।
उहाँले प्रदेशमा गरिबी, बेरोजगारी, कमजोर पूर्वाधार, शिक्षा तथा स्वास्थ्य सेवामा असमान पहुँच, युवा पलायन र नीति कार्यान्वयनका चुनौतीहरू अझै कायम रहेको जानकारी गराउनुभयो। ‘‘छलफल र त्यसको निष्कर्षले सरकारलाई नीतिगत सुधारका सुझाव प्रदान गर्ने विश्वास छ’’, मुख्यमन्त्री शाहले बताउनुभयो। कार्यक्रममा प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरपश्चिममा पर्याप्त सम्भावना हुँदाहुँदै प्रदेश समृद्धितर्फ अघि बढ्न नसकेको उल्लेख गर्नुभयो। उहाँले उक्त कार्यक्रमले प्रदेशको सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न मद्दत पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो।
पूर्व मन्त्री नरेश शाहीले कार्यक्रमको उद्देश्य सुदूरपश्चिमको स्वाभिमान, ऐतिहासिक विरासत र पहिचानलाई उजागर गर्नु रहेको जानकारी दिनुभयो। उहाँको अनुसार शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, रोजगारी, पूर्वाधार, सुरक्षित आप्रवासन र सुशासनसम्बन्धी नीतिगत बहस गरी साझा विकास दृष्टिकोण तयार गरिनेछ। कार्यक्रमबाट प्राप्त सुझावहरू आगामी आर्थिक वर्षको बजेट र नीति निर्माण प्रक्रियामा समावेश गरी केन्द्र सरकारले कार्यान्वयनमा ल्याउनु पर्नेछ भन्ने जानकारी पनि उहाँले साझा गर्नुभयो। भारतको कुमाउँ विश्वविद्यालयका प्राध्यापक डा. रितेश शाहले सुदूरपश्चिमका सम्भावनाको प्रचारप्रसारमा सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।
सुदूरपश्चिम विकास फाउन्डेसनका अध्यक्ष शेरबहादुर शाहीले बहस र छलफललाई नीतिगत सुधारसँग जोड्नुपर्नेमा जोड दिनुहुँदै संवाद मार्फत समस्याको समाधान खोज्न आवश्यक रहेको भन्नुभयो। उहाँले विकासका लागि स्पष्ट दृष्टि, इमान्दारिता र साझा उत्तरदायित्व आवश्यक रहेको धारणा राख्नुभयो। कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. जीवन रानाले दोस्रो पञ्चवर्षीय योजनाबारे जानकारी गराउनुभयो। उद्घाटन सत्रपछि सुदूरपश्चिमको सम्भावना, समृद्धि, सङ्घीयता अभ्यास, चुनौती र सुधारका विषयमा विभिन्न सत्रमा बहस सुरू भएको छ। कार्यक्रममा सङ्घ, प्रदेश र स्थानीय तहका सरकार, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, नागरिक समाज, सञ्चारकर्मी तथा विज्ञहरूको सहभागी रहेको छ।






