
४ जेठ, काठमाडौं । दाङको टारिगाउँ विमानस्थल उपेक्षामा परेको विषय लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कमल सुवेदीले सरकारको ध्यानाकर्षण गराएका छन्। उनले प्रतिनिधिसभाको सोमबारको बैठकमा भने, ‘वि.सं. २०११ सालमा स्थापना भएको दाङको टारिगाउँ विमानस्थल सात दशक बितिसक्दा पनि अझै विस्तार हुन सकेको छैन।’ उनले थपे, ‘यो विमानस्थल दाङसहित सल्यान, प्युठान, रोल्पा र रुकुमका लाखौं जनताको जीवनरेखा हो, तर अहिलेसम्म पनि यसलाई उपेक्षित गरिएको छ।’
त्यसैगरी, सांसद सुवेदीले लमही–घोराही–तुलसीपुर चार लेन सडक, राप्ती राजमार्ग, दाङ–सुर्खेत सडक तथा दामोदर मार्ग र तुलसीपुर–खिलतपुर सडकको अत्यन्त दयनीय अवस्थाबारे पनि प्रश्न उठाए। उनले जनाएका छन् कि यी सडकहरूको कमजोर अवस्थाका कारण जनताले दैनिक जीवनमा कष्ट र दुर्घटनाको जोखिम भोग्नुपरेको छ। उनले आगामी बजेटमा टारिगाउँ विमानस्थलको विस्तार र यी रणनीतिक सडकहरूको सुधारका लागि पर्याप्त बजेट विनियोजन गर्न सरकारसँग माग गरेका छन्।

