Skip to main content

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पदबहाल लिए

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएर पदबहाल गरेका छन्। संवैधानिक परिषद्ले न्याय परिषद्ले सिफारिस गरेका ६ जनामध्ये चौथो वरीयतामा रहेका शर्मालाई प्रधानन्यायाधीश बनाउन निर्णय गरेको थियो। नेपाल बारले न्यायालयको स्वतन्त्रता र पारदर्शितामाथि प्रश्न उठाउँदै शर्माको नाम सिफारिसको विरोध जनाएको छ।

५ जेठ, काठमाडौं। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पदबहाल गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएलगत्तै उनले सर्वोच्च अदालत पुगेर पदबहाल गरेका हुन्। उनी आजै संसदीय सुनुवाइबाट अनुमोदित भएका थिए। त्यसपछि तुरुन्तै शपथ ग्रहण गराएको थियो।

संवैधानिक परिषद्ले न्याय परिषद्ले पठाएका ६ जनामध्ये हाल सर्वोच्च अदालतमा चौथो वरीयतामा रहेका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीश बनाउन निर्णय गरेको थियो। संवैधानिक परिषद्ले विगतको वरिष्ठताक्रमको परम्परा तोड्दै शर्माको नाम सिफारिस गरेपछि न्यायालयको स्वतन्त्रता र पारदर्शितामाथि प्रश्न उठाउँदै नेपाल बारलगायतले विरोध गरेका छन्। सर्वोच्च अदालतमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल हुनुहुन्छ। वरीयताक्रममा उनी नै प्रधानन्यायाधीश हुने अपेक्षा राख्नु भएको थियो। सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेर प्रधानमन्त्रीले चाहेको व्यक्तिलाई अनुमोदन गर्न सहज वातावरण तयार पारेको थियो। ६ सदस्यीय संवैधानिक परिषद्मा तीन सदस्यानैले निर्णय गर्न सक्ने प्रावधान अध्यादेशमा राखिएको थियो। उक्त अध्यादेश जारी भएपछि संवैधानिक परिषद्ले बैठक गरी शर्माको नाम सिफारिस गरेको थियो।