
नेपाल उद्योग परिसंघ युवा संगठनले काठमाडौंमा नेपालको आर्थिक तथा औद्योगिक अवस्थाबारे छलफल सम्पन्न गरेको छ। कार्यक्रममा पूर्वमन्त्री अनिलकुमार सिन्हा, पूर्वअर्थमन्त्री रामेश्वरप्रसाद खनाल र सीएनआई अध्यक्ष वीरेन्द्रराज पाण्डे सहभागी थिए। सीएनआई युवा उद्यमी मञ्चका अध्यक्ष मनिष श्रेष्ठले भने, “भविष्यको मार्ग तय गर्न हामीले पहिले आफ्नो वर्तमान अवस्थाको सही विश्लेषण गर्नुपर्छ।” ६ जेठ, काठमाडौं।
नेपाल उद्योग परिसंघ (सीएनआई) युवा संगठन सीएनआई युवा उद्यमी मञ्चले काठमाडौंमा नेपालको आर्थिक तथा औद्योगिक अवस्था विश्लेषणबारे छलफल सम्पन्न गरेको छ। यस कार्यक्रमले नेपाली अर्थतन्त्रका संरचनागत चुनौती र विकासका सम्भावनाबारे विश्लेषण गर्न युवा व्यवसायी नेतृत्व, नीति विज्ञ र उद्योगीलाई एकै ठाउँमा ल्याएको छ भने सीएनआईले जनाएको छ।
छलफलमा नेपालको वित्तीय र कानुनी संरचना निर्माणमा महत्त्वपूर्ण भूमिका निभाएका विज्ञहरू सहभागी थिए। मनिष श्रेष्ठले वर्तमान आर्थिक अवस्थाको सही विश्लेषण गर्नुपर्नेमा जोड दिएका छन्। उनले भने, “भविष्यको मार्ग तय गर्न हामीले पहिले आफ्नो वर्तमान अवस्थाको सही विश्लेषण गर्नुपर्छ, अनुभवी नीतिनिर्माता र युवा उद्यमीको ऊर्जाबीचको दुरी मेटाउन मञ्च सधैं प्रतिबद्ध छ।”
छलफलमा संघीय वित्तीय प्रशासनका जटिलता, औद्योगिक विकासमा रहेका कानुनी बाधा र नेपालको वाणिज्य क्षेत्रमा भइरहेको परिवर्तनको विषयमा छलफल गरिएको थियो। प्रश्नोत्तर सत्रमा उत्पादन, प्रविधि र सेवा लगायत क्षेत्रका प्रतिनिधिहरूले तरलता, नीतिगत स्थिरता र लगानी वातावरणका विषयमा प्यानलिस्टहरूसँग जिज्ञासा राखेका थिए।

