Skip to main content

संसदीय समितिमा नेपाल-भारत सम्बन्धको विवाद र छलफल

भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण भारतमै महत्त्वपूर्ण बैठकपछि स्थगित भएको कुरा परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिनुभएको छ। नेपाल र भारतबीच लिपुलेक सीमा विवाद कूटनीतिक संवादमार्फत समाधान गर्ने प्रयास भइरहेको र टेक्निकल कमिटीले सक्रिय रूपमा काम गरिरहेको उहाँले बताउनुभयो। उहाँले नेपालको परराष्ट्र नीति संविधानअनुसार असंलग्नताको नीतिमा आधारित रहेको र नयाँ सरकारले आर्थिक कूटनीति र सफ्ट पावरमा जोड दिने उल्लेख गर्नुभयो। ६ जेठ, काठमाडौं। नयाँ सरकार गठनसँगै नेपाल-भारत सम्बन्धप्रति आमचासो बढिरहेको छ। भारतीय विदेश सचिव विक्रम मिश्रीको हुने भनिएको नेपाल भ्रमण स्थगित हुनु र लिपुलेक सीमा विवादले फेरि सतहमा प्रवेश गर्नु यस चासोलाई थप बढाएको देखिन्छ। यस्ता विषयहरू हाल संसदीय समितिको एजेण्डामा आएका छन्। नयाँ सरकारले लिन सक्ने विदेश नीति, भारतसँगको सम्बन्ध र चीन र भारत दुवैसँग सन्तुलनको विषय सांसदहरूले संसदीय फोरममा उठाउन थालेका छन्।

बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुरेन्द्र चौधरीले भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण स्थगनबारे प्रश्न उठाउनुभयो। उहाँले सोध्नुभयो, ‘भारतीय विदेश सचिव आउँदै हुनुहुन्छ तर हाम्रो प्रधानमन्त्रीको पोर्टफोलियो नरहेको कारण भेटघाट हुन नसकेको बताइएको छ। के हो यो विषय?’ परराष्ट्र मन्त्री शिशिर खनालले जवाफ दिँदै भारतमै भएका महत्त्वपूर्ण बैठकपछि भ्रमण स्थगित भएको जानकारी सरकारले पाएको बताउनुभयो। ‘उहाँले आफ्नो आन्तरिक तथा भारतमै भएका विभिन्न महत्त्वपूर्ण बैठकका कारण पोस्टपोन्ड भएको जानकारी परराष्ट्र मन्त्रालयमा आएको छ,’ मन्त्री खनालले भन्नुभयो।

प्रधानमन्त्री बालेनको नेतृत्वमा नयाँ सरकार गठनपछि भारतले विदेश सचिव मिश्रीलाई काठमाडौं पठाउने निर्णय गरेको थियो। नयाँ सरकारका प्राथमिकता र द्विपक्षीय सम्बन्धलाई नयाँ आयाम दिने उद्देश्यले मिश्रीको भ्रमण तय गरिएको थियो, तर अन्तिम समयमा यसलाई स्थगित गरिएको हो। यसरी नेपाल-भारत सम्बन्धका विभिन्न तहमा चर्चा भइराखेको छ। नयाँ सरकार गठनसँगै भारतले तत्काल शुभकामना दिएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समकक्षी बालेनलाई औपचारिक रूपमा भारत भ्रमण को निम्ता समेत दिएका छन्। मिश्रीको भ्रमण स्थगित भएपछि कतिपय पक्षहरूले आशंका पनि प्रकट गरेका छन्। यद्यपि, सार्वजनिक रूपमा सञ्चारमाध्यममा देखिएका हेडलाइनजस्तो अवस्था नरहेको बताइनु भएको छ परराष्ट्रमन्त्री खनालले।

संसदीय समितिको बैठकमा उहाँले भारतीय राजदूतसँग भएको भेटको प्रसंग पनि साझा गर्नुभयो। ‘मसँग भएको औपचारिक भेटघाटमा राजदूतज्यूले हाँस्दै भन्नुभएको थियो—मिडिया मात्र हेर्ने हो भने त हामी युद्धको स्थितिमा छौं जस्तो देखिन्छ’, उहाले भन्नुभयो, ‘औपचारिक प्रक्रिया र संवादमा हामीले सौहार्दता पाएका छौं।’ तर यसबारे गलत धारणा बनाएको उहाँले टिप्पणी गर्नुभयो। ‘अहिले बन्न गएको न्यारेटिभ भनेको भ्रमण नहुँदा नेपाल-भारत सम्बन्ध निकै चिसिएको छ भन्ने हो, तर त्यो हाम्रो औपचारिक संवादहरूमा देखिएको छैन,’ खनालले भन्नुभयो। ‘विभिन्न विषयहरूमा घनिष्ट संवाद भइरहेका छन्। नेपाल-भारत बीच कनेक्टिभिटी विषयमा समेत हामी विविध संवाद गरिरहेका छौं।’