
६ जेठ, काठमाडौं । प्रतिनिधिसभाका पछिल्ला केही बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले निरन्तर विरोध गरिरहेका छन्। उनीहरूले कहिले पर्चा र प्ले कार्ड देखाउँछन् भने कहिले सभामुखसँग समय नलिएरै प्रश्न सोध्छन्। सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई नियम २० र २१ अनुसार मर्यादा कायम राख्न सचेत गराएका छन्। तर श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) भने यसलाई मान्दैनन्।
बुधबार सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले प्रश्नहरूको जवाफ दिएपछि साम्पाङले सभामुखलाई समय माग्न नदिई प्रश्न उठाए। उनले हिमाली र पहाडी क्षेत्रमा इन्टरनेटको पहुँच कमजोर भएको विषय उठाए। सभामुखले समय मागेर बोल्नुपर्ने व्यवस्था रहेको जानकारी गराए पनि साम्पाङले मानेनन्। मन्त्रीले माइक बिना नै साम्पाङको प्रश्नको जवाफ दिएर सरकारले फोरजी र टुजी नेटवर्क सुधारका लागि काम गरिरहेको बताएका छन्।
संसद्मा श्रम संस्कृति पार्टीका सात सांसद छन् भने रास्वपा दुई सिटले बढी हुँदा दुई तिहाइ बहुमत छ। सोमबार, श्रम संस्कृति पार्टीका सांसदहरूले प्ले कार्ड र पर्चा लिएर संसद्मा विरोध गरे। प्ले कार्डमा लेखिएको थियो, ‘प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नैपर्छ।’ सभामुखले यस्ता विरोध शैली नराख्न र मर्यादामा बसेर विरोध गर्नुपर्ने स्पष्ट आदेश दिएका छन्। तर श्रम संस्कृति पार्टीले नियमित रुपमा विरोध जारी राखेको छ।
साम्पाङले भने, ‘हामीले तोडफोड वा आगजनी गरेको छैनौं, जनताका प्रश्न राख्न खोजेका हौं।’ उनले प्रधानमन्त्रीको जवाफ खोजिरहेका छन् र सुकुम्बासीहरूको व्यवस्थापन लगायतका विषयमा जवाफ दिनुपर्ने बताएका छन्। ‘निलम्बनको खतरा होला नि?’ सोधिएको प्रश्नमा साम्पाङले भने, ‘ठीक छ, हामी रेडी छौं।’

