
८ जेठ, काठमाडौं । इरानमा पानीजहाजसहित पक्राउ परेका नेपाली नागरिक अमृत झा अहिलेसम्म हिरासतमै रहेका छन्। इरानको बन्दर अब्बासस्थित जेलमा रहेका झाको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक पहल जारी राखिरहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार झासम्बन्धी मुद्दा हाल इरानको स्थानीय अदालतमा विचाराधीन छ र त्यसको निर्णय इरानी कानुनअनुसार हुनेछ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले झाको निष्पक्ष सुनुवाइ र रिहाइका लागि उपलब्ध सबै माध्यमबाट निरन्तर पहल भइरहेको जानकारी दिए।
उनका अनुसार अदालतले ‘एक्सपोर्ट रिपोर्ट’ तयार पार्न निर्देशन दिएको थियो। सोहीअनुसार विज्ञ टोली गठन गरेर प्रतिवेदन तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ। उक्त रिपोर्ट अदालतमा पेस भएपछि स्थानीय कानुनअनुसार थप प्रक्रिया अघि बढ्ने बताइएको छ। प्रवक्ता पौडेलले रिपोर्ट प्राप्त भएपछि अदालतले आवश्यक निर्णय गर्ने बताए। ‘हामीले आफ्ना नागरिकको पक्षमा आवश्यक पहल गरिरहेका छौं। तर अन्तिम निर्णय त्यहाँको कानुनअनुसार नै हुन्छ,’ उनले भने।
‘एक्सपोर्ट रिपोर्ट’ भनेको कुनै जहाज, सामान वा त्यससँग सम्बन्धित घटना सम्बन्धी पक्राउ, अनुसन्धान र परीक्षणको क्रममा संकलन गरिएका सबै विवरण समेटिएको प्राविधिक तथा कानुनी प्रतिवेदन हो। अमृत झाको प्रकरणमा यो रिपोर्टमा विशेष रूपमा जहाज पक्राउ परेको अवस्था, जहाजको विवरण, सुरक्षाकर्मी तथा प्रहरीले गरेको अनुसन्धान, संकलित प्रमाण, प्राविधिक परीक्षणका नतिजा, घटना सम्बन्धी कानूनी निष्कर्ष जस्ता विषयहरू समावेश गरिएको छ। इरानी अदालतले यही प्रतिवेदन माग गरेपछि विज्ञ टोली बनाएर रिपोर्ट तयार गरेको हो।
उक्त रिपोर्ट अदालतमा पेस भएपछि त्यसका आधारमा अदालतले थप सुनुवाइ र निर्णय प्रक्रिया अघि बढाउनेछ। उक्त प्रतिवेदन तयार गर्न लाग्ने शुल्कसमेत नेपाल सरकारले भुक्तानी गरिसकेको मन्त्रालयले जनाएको छ। रिपोर्ट अदालतमा पेस भएपछि थप आदेश आउने भए पनि त्यसका लागि कति समय लाग्छ भन्ने यकिन भइसकेको छैन। यसअघि परराष्ट्रमन्त्रीले सामाजिक सञ्जालमार्फत झा रिहा भएको उल्लेख गरेका थिए। तर, वास्तविकता फरक रहेकाले त्यसको व्यापक आलोचना भएपछि परराष्ट्र मन्त्रालयले क्षमायाचना गरेको थियो।
मन्त्रालयले स्थानीय अदालतमा मुद्दा विचाराधीन रहेको र झा हिरासतमै रहेको अवस्थामा अनौपचारिक जानकारीको आधारमा रिहा भएको समाचार सार्वजनिक भएको स्वीकार गर्दै गल्तीप्रति दुःख व्यक्त गरेको छ। सन् २०२४ को जुलाईमा वैदेशिक रोजगारीका लागि यूएई गएका उदयपुर गाईघाटका ३३ वर्षीय झा ‘अल लुलु मरिन सर्भिसेस् एलएलसी’को पानी जहाजमा ‘सीम्यान’को रूपमा काम गर्दै थिए। वर्तमान सरकारले आउनुअघि नै अमृत झासहित ७ जना सवार पानी जहाजले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको भन्दै इरानको हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहबाट इरानी रेभोल्युसनरी गार्डले फारसी खाडीको होर्मुज स्ट्रेटबाट नियन्त्रणमा लिएको थियो। पानी जहाजसहित ७ जनालाई नियन्त्रणमा लिएर अदालतमा मुद्दा दायर गरिएको थियो। अदालतको आदेशपछि जहाजमा रहेका ७ जनामध्ये ४ जना रिहा भएका थिए भने झासहित ३ जना रिहा हुन बाँकी नै छन्। उनीहरूको पनि रिहाइको प्रक्रिया अघि बढिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

