
९ जेठ, काठमाडौं । गाउँ क्षेत्रहरूमा विशेषज्ञ स्वास्थ्य सेवाको सहज पहुँच नहुँदा सामान्य उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता अझै कायम छ। विशेषगरी महिलामा देखिने पाठेघर र प्रजनन स्वास्थ्यसम्बन्धी समस्याका क्रममा परीक्षण हुन नसक्दा धेरैले पीडा सहेर चुपचाप बस्नुपर्ने अवस्था छ। तर, शारदा नगरपालिका ८ मार्केमा दुई दिनसम्म सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरले गाउँमै विशेषज्ञ सेवा उपलब्ध गराएपछि स्थानीय नागरिकमा राहत आएको छ। गाउँमै पहिलोपटक प्रजनन स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा ठूलो स्तरमा पुगेपछि स्थानीय महिलामा उत्साह देखिएको छ। बिहीबार बिहानैदेखि मार्के स्वास्थ्य चौकी परिसरमा सेवाग्राहीको घुइँचो लागेको थियो। कोही पाठेघरसम्बन्धी समस्या लिएर आएका थिए भने कोही मधुमेह र उच्च रक्तचाप परीक्षणका लागि लाइनमा उभिएका थिए। आर्थिक अभाव र विशेषज्ञ सेवा अभावले उपचारबाट टाढिएका महिलाहरूले गाउँमै निःशुल्क जाँच तथा परामर्श पाउँदा राहत महसुस गरेका छन्।
स्थानीय सिर्जना बुढाथोकीले जिल्लामा सम्बन्धित विशेषज्ञ डाक्टर नहुँदा उपचारका लागि काठमाडौंसम्म जानुपर्ने बाध्यता रहेको बताएर गाउँमै निःशुल्क सेवा पाउँदा सहज भएको बताइन्। उनले आर्थिक रुपमा कमजोर परिवारका महिलाले समयमै उपचार नपाउँदा समस्या झन् गम्भीर हुने गरेको पनि बताइन्। ‘पाठेघरसम्बन्धी समस्याले लामो समयदेखि पीडा सहँदै थियौँ। जिल्लामा यससम्बन्धी विशेषज्ञ डाक्टरको सेवा उपलब्ध थिएन। सामान्य जाँच तथा उपचारका लागि पनि काठमाडौं जानुपर्ने बाध्यता थियो। उपचारमा धेरै खर्च लाग्ने भएकाले सबैले सहजै सेवा लिन सक्ने अवस्था थिएन। अहिले गाउँमै निःशुल्क शिविर संचालन हुँदा धेरै सहज भएको छ। समयमै जाँच र परामर्श पाउँदा महिलालाई ठूलो राहत मिलेको छ’, उनले भनिन्।
शिविरमा सहभागी स्थानीय कल्पना थापा क्षेत्रीले ग्रामीण क्षेत्रका महिलाले स्वास्थ्य समस्यालाई लुकाएर बस्नुपर्ने अवस्था अझै रहिरहेको बताएर यस्ता शिविर नियमित सञ्चालन गर्नुपर्ने आवश्यकतामा जोड दिइन्। उनले गाउँमै विशेषज्ञ सेवा पुगेपछि उपचारमा नागरिकको पहुँच बढेको पनि स्मरण गराइन्। ‘उपचारका लागि टाढा जानुपर्ने बाध्यता अझै धेरै महिलामा छ। आर्थिक अभाव, यातायातको समस्या र जनचेतनाको कमीका कारण कतिपय महिलाले समयमै उपचार गर्न सकिरहेका छैनन्। केही महिनाको अन्तरालमा यस्ता शिविर सञ्चालन गरिदिए ग्रामीण क्षेत्रका नागरिकलाई धेरै राहत हुने थियो’, उनले भनिन्।
दुई दिनसम्म सञ्चालन गरिएको शिविरबाट ७ सय ६२ जनाले सेवा लिएका छन्, जसमा ६ सय ६५ महिला र ९७ पुरुष छन्। महिलामध्ये ३ सय २६ जनाले गाइनो सेवा लिएका थिए भने २ सय ३ जनाको VIA विधिबाट पाठेघरको जाँच गरिएको थियो। जाँचका क्रममा १८ जनामा जटिल समस्या देखिएपछि थप उपचारका लागि रेफर गरिएको छ। त्यसैगरी, VIA परीक्षण गराएका १५ जनामा आङ खस्ने समस्या देखिएको र जसमध्ये ११ जनाले रिङ प्रेसरी राखेको आयोजकले जानकारी दिएका छन्। दलित विकास समाज सल्यानका कार्यकारी निर्देशक विनायक रेग्मीले जिल्लामा महिला प्रजनन स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा अभाव हुँदा रोग पहिचान र उपचारलाई गाउँस्तरमै पुर्याउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताए। ‘महिला प्रजनन स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा जिल्लामा उपलब्ध नभएकाले विभिन्न वडाका नागरिकलाई लक्षित गरी निःशुल्क शिविर आयोजना गरेका हौँ। आगामी दिनमा अन्य स्थानीय तहसँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गर्ने योजना छ’, रेग्मीले जानकारी दिए।
शारदा नगरपालिका, आइपास नेपाल, दलित विकास समाज सल्यान र स्वास्थ्य सेवा कार्यालय सल्यानको समन्वयमा सञ्चालन गरिएको शिविरमा प्रजनन स्वास्थ्य, पाठेघर जाँच, मधुमेह तथा उच्च रक्तचापसम्बन्धी विशेषज्ञ परीक्षण र परामर्श सेवा प्रदान गरिएको थियो। नगर प्रमुख प्रकाश भण्डारीले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विभिन्न स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिने बताए। ‘नागरिकको सहजताका लागि विभिन्न समयमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छौँ। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौँ’, उनले भने।

