Skip to main content

सगरमाथा र लोत्से आरोहण गरेकी दुई महिला सशस्त्र प्रहरी कर्मचारीलाई एक तह बढुवा

९ जेठ, काठमाडौं। सगरमाथा र लोत्से हिमाल सफलतापूर्वक आरोहण गरेकी सहायक निरीक्षक निम दिकी शेर्पा र सहायक हवल्दार अनिता कार्कीलाई सशस्त्र प्रहरी बलले एक तह बढुवा गरेको छ। सहायक निरीक्षक शेर्पालाई तत्काल बढुवा प्रक्रिया अघि बढाइएको छ भने सहायक हवल्दार कार्कीलाई सहायक हवल्दार पदमा कार्यरत अवधि पूरा भएपछि हवल्दारमा बढुवा गरिने योजना रहेको छ।

शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा आयोजित सम्मान कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले उक्त बढुवा घोषणा गरेका छन्। महानिरीक्षक पौडेलले सगरमाथा र लोत्से हिमाल सफलतापूर्वक आरोहण गरेका शेर्पा र कार्कीलाई बधाई दिँदै, विश्वका सर्वोच्च शिखरहरूमा राष्ट्र र संगठनको झण्डा फहराउनु गर्वको विषय भएको बताए।

अनिता कार्कीले जेठ ३ गते बिहान १० बजे २० मिनेटमा सगरमाथा आरोहण गरेकी थिइन् भने निम दिकी शेर्पाले सोही दिन बिहान ११ बजे ५५ मिनेटमा सगरमाथा र जेठ ४ गते दिउँसो ३ बजे २५ मिनेटमा लोत्से हिमाल सफलतापूर्वक आरोहण गरेकी थिइन्।