Skip to main content

१८औं शहीद भीमनारायण गोल्डकप प्रतियोगिता आजदेखि सुरु

१० जेठ, धनकुटा। शहीद भीमनारायण गोल्डकपको १८औं संस्करणको प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ। धनकुटास्थित तल्लो टुँडिखेलमा दिउँसो ३ बजेदेखि खेल सुरु हुने आयोजकले जनाएको छ। प्रतियोगिताको उद्घाटन खेल सलहेश फुटबल क्लब सिराहा र राष्ट्रिय जागृति क्लब सुनसरी बीच हुनेछ। जेठ १६ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा सलहेश फुटबल क्लब सिराहा र राष्ट्रिय जागृति क्लब सुनसरीसहित आठ टिमको सहभागिता रहनेछ। सहभागी टिमहरूमा आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठान, गाईघाट युनाइटेड क्लब उदयपुर, बिर्तामोड युनाइटेड क्लब झापा, बेलबारी फुटबल क्लब मोरङ र सातदोबाटो युथ क्लब ललितपुर साथै भारतको जर्जियन फुटबल क्लब पनि रहेका छन्।
गत वर्ष विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफि, मेडल, कप र प्रमाणपत्र प्राप्त गरेका थिए भने यस वर्ष विजेता टिमले ६ लाख रुपैयाँ र उपविजेता टिमले ३ लाख रुपैयाँ नगद पुरस्कारसहित ट्रफी तथा मेडलसम्म पाउने छन्। हरेक खेलमा प्लेयर अफ द म्याचले नगद ६ हजार रुपैयाँ पाउनेछन् भने प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी र विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएका छन्।
प्रतियोगिताका लागि आर्थिक, प्रचारप्रसार, खेलमैदान व्यवस्थापन, मञ्च, सुरक्षा, स्वयंसेवक तथा प्राथमिक उपचार व्यवस्थापन लगायत दस वटा उपसमितिहरू गठन गरिएको संयोजक शम्भु प्रधानले जानकारी दिए। प्रतियोगिताको मुख्य सहयोगी धनकुटा नगरपालिकासहित जिल्लाका सबै स्थानीय तहहरू रहेका छन्। प्रायोजक एक्सट्रीम इनर्जी ड्रिंक, सहप्रायोजक श्रीकृष्ण फर्निचर एण्ड फ्लोरिङ सप्लायर्स धनकुटा, एन पेनाङ्ग फुटबल क्लब मलेसिया, जीवन विकास लघुवित्त वित्तीय संस्था मोरङ, सुनौलो जीवन सुधार केन्द्र धनकुटा, सल्भ नेपाल धनकुटा र नेपाल टेलिकम धनकुटा समेत सहयोगी रहेका छन्। खेल हेर्न निशुल्क व्यवस्था गरिएको छ।
गत वर्षको १७औं संस्करणको शहीद भीमनारायण गोल्डकपको उपाधि नमोबुद्ध फुटबल क्लब सप्तरीले जितेको थियो भने गाईघाट फुटबल क्लब उदयपुर उपविजेता बनेको थियो। प्रतियोगिता सम्पन्न गर्न ४५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रत्येक टिममा १८ जना खेलाडी, एक प्रशिक्षक र एक व्यवस्थापक गरी जम्मा २० जना रहनेछन् भने ४ जना विदेशी खेलाडीले सहभागिता जनाउन सक्नेछन् जसमा ३ जना मैदानमा फरकाउनेछन्। भारतीय खेलाडीलाई स्थानीय खेलाडी सरह मान्यता दिइनेछ। प्रतियोगिताको कार्यक्रम अनुसार सोमबार गाईघाट युनाइटेड क्लब उदयपुर र बिर्तामोड युनाइटेड क्लब झापा, मंगलबार आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठान र भारतको जर्जियन फुटबल क्लब, बुधबार बेलबारी फुटबल क्लब मोरङ र सातदोबाटो युथ क्लब ललितपुरबीच प्रतिस्पर्धा हुनेछ। बिहीबार र शुक्रबार सेमिफाइनल र शनिबार फाइनल खेल हुनेछ। वि.स. २०५५ सालदेखि सुरु भएको प्रतियोगिता केही वर्षको अवधीपछि २०६३ देखि नियमित सञ्चालनमा आएको हो। २०५५ सालमा तत्कालीन धनकुटा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले वडाबाट बजेट विनियोजन गरेपछि यो प्रतियोगिता सुरु भएको थियो। पहिलो वर्षमा तत्कालीन कोशी अञ्चलका र दोस्रो वर्षमा तत्कालीन पूर्वाञ्चल विकास क्षेत्रका टिमहरूले सहभागिता जनाएका थिए। तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको आरोपमा २०३५ सालमा मृत्युदण्ड दिइएका शहीद भीमनारायण श्रेष्ठको स्मृतिमा यो प्रतियोगिता आयोजना हुँदै आएको हो। सरकारले उनलाई २०७४ सालमा शहीदको घोषणा गरेको थियो।