Skip to main content

नेपाल आज किर्गिस्तानसँग भिड्दै

९ जेठ, काठमाडौं । घरेलु मैदानमा भइरहेको काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत समूह ए को दोस्रो खेलमा नेपाल आज किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। पहिलो खेलमा परिचित प्रतिद्वन्द्वी भारतसँग पाँच सेटको प्रतिस्पर्धात्मक खेलमा पराजित भएको नेपालले पहिलो जित हात पार्ने लक्ष्य राखेको छ। सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाउन नेपालले किर्गिस्तानलाई पराजित गर्नुपर्नेछ। पहिलो खेलमा माल्दिभ्सलाई सोझो सेटमा हराउँदै किर्गिस्तानले ३ अंक जोडेको छ। समूह ए मा किर्गिस्तान ३ अंकसहित शीर्ष स्थानमा रहेको छ भने भारतको २ र नेपालको १ अंक छ, माल्दिभ्स भने अंकविहीन छ। नेपाल र किर्गिस्तानबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्ड हलमा साँझ ५ बजे सुरु हुनेछ। त्यसअघि दिउँसो साढे २ बजे समूह ए मा भारत र माल्दिभ्सबीच खेल हुनेछ। नयाँ कप्तान निरुता ठगुन्नाको नेतृत्वमा नेपालको टोलीले भारतविरुद्ध प्रतिस्पर्धात्मक खेल खेले पनि अन्तिम सेटमा पराजित भएको थियो। उक्त खेलमा नेपालका ५ युवा खेलाडीहरूले राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। नेपालका मुख्य प्रशिक्षक जगदिश भट्टका अनुसार भारतसँगको खेलपछि बाँकी रहेका दुई खेल जितेर सेमिफाइनल पुग्ने लक्ष्य छ। आजै १२ बजे समूह बी मा रहेको काजाखस्तान र श्रीलंकाबीच खेल हुनेछ। खुवैले पहिलो पटक च्याम्पियनसिपमा खेलेका हुनेछन्। सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को आयोजना एवं नेपाल भलिवल संघको संयोजनमा शुक्रबारदेखि काठमाडौंमा सुरु भएको काभा महिला भलिबल च्याम्पियनसिपमा सेन्ट्रल एसियाका ८ राष्ट्रको सहभागिता छ। यो च्याम्पियनसिपको विजेता महिला टोली एसिया कपका लागि छनोट हुनेछ, नेपाल भलिबल संघले जनाएको छ। च्याम्पियनसिपका खेलहरू हिमालय स्पोर्ट्समार्फत प्रत्यक्ष प्रशारण गरिनेछन्।