Skip to main content

उपसभामुख ठाकुरले दाइजो प्रथाविरुद्ध अन्तिम साससम्म लड्ने प्रतिबद्धता जनाइन

उपसभामुख रुबिकुमारी ठाकुरले दाइजो प्रथाविरुद्ध अन्तिम साससम्म संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनी सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ गौचरण बजारमा आइतबार आयोजित बालविवाह र दाइजो प्रथा उन्मूलन सम्बन्धी बृहत् सभालाई सम्बोधन गर्दै सामाजिक समान व्यवहारका माध्यमबाट मात्र दाइजो प्रथाको अन्त्य सम्भव हुने बताउनुभयो।

‘बाल विवाहले जीवन नष्ट गर्छ, दाइजो हटाऔं, छोरी बचाऔं’ भन्ने नारासहित आयोजित कार्यक्रममा बोल्दै उपसभामुख ठाकुरले दाइजोका कारण विशेष गरी मधेश क्षेत्रमा छोरीमाथि हिंसा बढिरहेको उल्लेख गरिन्। उनले भनिन्, “दाइजोको दबाबले धेरै छोरी र बुहारीले ज्यान गुमाइसकेका छन् भने गर्भमै छोरीको हत्या हुँदै आएको तथ्यसमेत छ।”

उपसभामुख ठाकुरले मधेशमा दाइजो प्रथा गहिरो रूपमा फैलिएको र यसको असर अब देशका अन्य क्षेत्रहरूमा पनि देखिन थालेको बताउँदै व्यवहारमा परिवर्तन नआएसम्म यस्ता सामाजिक विकृतिहरू अन्त्य गर्न नसकिने बताइन्। उनले छोरीहरूलाई छोरा जस्तै शिक्षा र अवसरहरू प्रदान गर्नुपर्नेमा जोड दिइन्।

सांसद नितिमा भण्डारी कार्कीले दाइजो प्रथा अन्त्यका लागि महिलासँगै युवापुस्ता सक्रिय भूमिका खेल्नुपर्ने बताइन्। गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले २० वर्ष पुगेपछि मात्र छोरीको विवाह गर्ने अभिभावकलाई गाउँपालिकाले सम्मान गर्दै आएको जानकारी गराए।

गाउँपालिकाले विगत चार वर्षदेखि कक्षा १२ उत्तीर्ण गरी २० वर्षपछि विवाह गर्ने छोरीलाई ५० हजार रुपैयाँ प्रोत्साहन स्वरूप उपलब्ध गराउँदै आएको छ। अहिलेसम्म १५७ जनालाई ५० हजार रुपैयाँ र १९७ जनालाई ११ हजार रुपैयाँ सहयोग दिइसकिएको गाउँपालिकाले जनाएको छ। कार्यक्रममा ३५४ जना छोरीहरू र उनका परिवारलाई उपसभामुख ठाकुरको हातबाट सम्मान गरियो।