Skip to main content

रूसले किएभमा थप आक्रमणको चेतावनी दिंदै विदेशीहरूलाई सहर छोड्न आग्रह गर्यो

१२ जेठ, काठमाडौं । रूसले किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै त्यहाँ रहेका विदेशी नागरिक र कूटनीतिज्ञहरूलाई सहर छोड्न आह्वान गरेको छ। रूसले गत साताको अन्त्यमा युक्रेनमा कैयौँ ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको थियो जसमा चार जनाको मृत्यु भएको र दर्जनौं घाइते भएका थिए। आक्रमणबाट किएभमा रहेका भौतिक संरचनामा पनि व्यापक क्षति पुगेको थियो।

मस्कोका अनुसार, रूसले गत हप्ता ओरेश्निक हाइपरसोनिक मिसाइललगायतका हतियार प्रयोग गरेको पुष्टि गरेको छ। यो हतियार ध्वनिको गतिभन्दा १० गुणा बढी छिटो जान्छ र आणविक हतियार बोक्नसमेत सक्छ। रूसले रूसी अधीनस्थ लुगान्स्क क्षेत्रमा रहेको एक व्यावसायिक विद्यालयमा आक्रमण गरी २१ जनाको ज्यान लिएको आरोप लगाएको केही दिनपछि यो आक्रमण भएको हो।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त आक्रमणको बदला लिन आफ्नो सेनालाई आदेश दिएका थिए। रूसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको परिस्थितिमा रूसी सशस्त्र बलले किएभमा रहेका युक्रेनी सैन्य–औद्योगिक प्रतिष्ठानमाथि व्यवस्थित आक्रमण सुरु गरिरहेको छ।’ मन्त्रालयले भनेको छ, ‘आक्रमणले निर्णय गर्ने केन्द्र र कमान्ड पोष्ट दुवैलाई लक्षित गर्नेछ। हामीले विदेशी नागरिक, कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय सङ्गठनका कर्मचारीलाई जतिसक्दो चाँडो सहर छाड्न चेतावनी दिइरहेका छौँ।’