Skip to main content

लम्कीचुहा प्रादेशिक अस्पतालको उद्घाटन स्थानीय विवादको बीचमा

१४ जेठ, कैलाली । स्थानीय सरकारसँग जारी विवादबीच कैलालीको लम्कीचुहा प्रादेशिक अस्पतालको उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मेयर सुशीला शाहीसँगको विवादका बेला आज बिहान यस अस्पतालको उद्घाटन गरेका हुन् । विवाद जारी रहँदा अस्पताल उद्घाटन कार्यक्रम राखिएपछि आज बिहानदेखि नै अस्पताल र वरपरको सडक क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरी कडा सुरक्षा व्यवस्था गरिएको थियो।

१५ शय्याबाट सञ्चालनमा आउने लम्कीचुहा अस्पतालको सञ्चालन सम्बन्धमा प्रदेश सरकार र नगरपालिकाबीच सहमति हुन सकेको छैन। सामाजिक विकास मन्त्रालयले गत वैशाखमा मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कमलेशप्रसाद यादवसहित तीन जनालाई अस्पतालमा कामका लागि पठाएको थियो। तर मेयर शाहीले अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण नभएको भन्दै ती कर्मचारीलाई काममा आउन नदिन भनेपछि विवाद थप बढेको थियो। उक्त विवादका कारण गत वैशाख ३० गते अस्पतालमा तालाबन्दीसमेत भएको थियो, जसले लम्की क्षेत्र तनावग्रस्त बनाएको छ। लम्की क्षेत्रबाट प्रतिनिधित्व गर्ने सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र मेयर सुशीला शाहीबीचको आन्तरिक द्वन्द्व नै यस समस्याको मुख्य कारण भएको स्थानीयहरूले बताएका छन्। मेयर शाहीका समर्थकहरूले अस्पतालका विषयमा विरोध प्रदर्शन र अवरुद्ध गर्न सक्ने सम्भाव्यताका कारण आज बिहानदेखि नै सुरक्षा कडा गरिएको थियो। मेयर शाही हाल विदेशमा छन्।