काठमाडौँबाट पूर्वतर्फ जाने बसहरूमा जीपीएस र सीसी क्यामेरा जडान, अनलाइन टिकट प्रणाली सुरू

काठमाडौँको नयाँ बसपार्कबाट पूर्वतर्फ जाने ८१ वटा सार्वजनिक सवारीसाधनमा जीपीएस प्रणाली र सीसी क्यामेरा जडान गरिएको छ। पूर्व यातायात व्यवस्थापन प्रालिले पूर्वी क्षेत्रका यात्रुको सुविधाको लागि अनलाइन टिकट प्रणाली समेत सञ्चालनमा ल्याएको छ। कम्पनीले छिट्टै आफ्ना बसहरूमा ‘लगेज ट्याग’ प्रणाली पनि लागू गर्ने तयारी गरिरहेको छ। १७ जेठ, काठमाडौँ।
काठमाडौँबाट पूर्वी क्षेत्रहरूमा चल्ने अधिकांश सार्वजनिक सवारीसाधनमा सीसी क्यामेरा जडान गरिएको छ भने बसको टिकट अनलाइनबाटै काट्न सकिने व्यवस्था पनि गरिएको छ। सरकारले सबै सार्वजनिक सवारीसाधनमा अनिवार्य रूपमा जीपीएस र सीसी क्यामेरा जडान गर्न निर्देशन दिँदै आएको भन्दै पूर्व यातायात व्यवस्थापन प्रालिले काठमाडौँको नयाँ बसपार्कबाट पूर्वतिर सञ्चालन हुने सबै सवारीमा यी प्रणालीहरू जडान गरिसकेको छ।
पूर्व यातायात व्यवस्थापन प्रालिका अध्यक्ष रजन रोक्काले नयाँ बसपार्कबाट पूर्वी विभिन्न गन्तव्यतर्फ चल्ने ८१ वटा सार्वजनिक सवारीसाधनमा जीपीएस र सीसी क्यामेरा जडान भएको जानकारी दिए। काठमाडौँ–पूर्व जाने सार्वजनिक सवारीहरूलाई वि.सं. २०८० साउनदेखि एउटै कम्पनीमा समायोजन गरी सञ्चालन गरिएको छ। उक्त कम्पनीमार्फत हाल तेह्रथुम, ताप्लेजुङ, खाँदबारी, काकँडभिट्टा, भद्रपुर, धरान, विराटनगर, मधुमल्ला, गौरीगञ्ज, बनियानी, गाईघाट, इलाम, पशुपतिनगर कटारी, जनकपुर, राजविराज, विराटनगर लगायतका स्थानहरूमा सार्वजनिक सवारी सञ्चालन भइरहेको छ।
कम्पनीका सञ्चालक राजेन्द्रबहादुर थापाले सरकारले अघि सारेको योजना पूर्व यातायात व्यवस्थापन प्रालिले सफलतापूर्वक कार्यान्वयन गरेको बताए। उनले छिट्टै कम्पनीका बसहरूमा ‘लगेज ट्याग’ प्रणाली लागू गरिने समेत जानकारी दिए। साथै पूर्वी क्षेत्रका यात्रुको सुविधाका लागि प्रालिले अनलाइन टिकट प्रणाली पनि सक्रिय बनाएको बताइयो।






