नेपाल निर्वाचन २०८२: प्रधानमन्त्री नियुक्तिका दुई बाटा, नयाँ सरकार गठन प्रक्रिया

समानुपातिकतर्फको मतगणना सकिएपछि पनि नयाँ सरकार गठन हुन अझै एक साताभन्दा बढी समय लाग्ने देखिएको छ। राष्ट्रपतिको कार्यालयले निर्वाचन आयोगबाट अन्तिम मतपरिणामसम्बन्धी प्रतिवेदन प्राप्त भएपछि मात्र सरकार गठनका निम्ति आह्वान गरिने जनाएको छ भने आयोगका एक सहायक प्रवक्ताले उक्त प्रतिवेदन तयार हुन अझै एक साता लाग्न सक्ने आकलन गरेका छन्।
“आयोगले प्रतिवेदन बुझाइसकेपछि संसद् डाकेर संसदीय प्रक्रियाअनुसार जाने कि पहिल्यै प्रधानमन्त्री नियुक्त गर्ने भन्ने दुइटा प्रक्रिया छन्,” आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले भने, “कसरी जाने भन्ने उहाँहरूको कुरा हो, प्रतिवेदन बुझाइसकेपछि आयोगको पाटोचाहिँ टुङ्गिन्छ।” राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहप्रवक्ता प्रतिभा रावलले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बन्नेमा आफूहरू प्रष्ट रहेको तर त्यससम्बन्धी प्रक्रियागत विषयहरू भने पार्टीले टुङ्गो लगाउनै बाँकी रहेको बताइन्। अहिलेसम्मको मतगणनाअनुसार उक्त दलले स्पष्ट बहुमत हासिल गरिसकेको छ।
प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपा समानुपातिक मतगणनातर्फ पनि अग्रस्थानमा छ। “बालेन शाह प्रधानमन्त्री बन्नुहुन्छ भन्नेमा हामीमा दुईमत रहेन किनभने त्यो सम्झौता गरेरै अघि बढिसकेको कुरा हो,” उनले भनिन्। अबको प्रक्रिया निर्वाचन आयोगका अधिकारीहरूका अनुसार समानुपातिकतर्फको अन्तिम मतपरिणाम आउन बाँकी रहेकाले पूर्ण प्रतिवेदन राष्ट्रपतिसमक्ष पठाउन करिब एक साता लाग्ने छ।
“हामी सकेसम्म चाँडो समानुपातिकतर्फ दलहरूले पाउने सीट सङ्ख्या टुङ्ग्याउने प्रयासमा छौँ,” सहायक प्रवक्ता जीसीले भने। उक्त प्रतिवेदन प्राप्त भएपछि मात्रै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सरकार गठनका निम्ति आह्वान हुने राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए। “उक्त प्रतिवेदन प्राप्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६(१) बमोजिम सरकार गठनका निम्ति आह्वान गर्नुहुने छ।”






