Skip to main content

इन्स्टाग्राममा पोस्टहरू मनपरी पुन:क्रमबद्ध गर्ने नयाँ ‘ग्रिड पुन:क्रमबद्ध’ सुविधा थपियो

इन्स्टाग्रामले आफ्ना प्रयोगकर्ताका लागि लामो समयदेखि प्रतिक्षित एउटा महत्वपूर्ण सुविधा सार्वजनिक गरेको छ। कम्पनीले सोमबार, ८ जुनदेखि प्रयोगकर्तालाई आफ्नो प्रोफाइलमा रहेका पोस्टहरूलाई मनपरी तरिकाले पहिलो पटक ‘पुन:क्रमबद्ध’ गर्न सक्ने सुविधा प्रदान गरेको छ। पहिले इन्स्टाग्राममा प्रोफाइल पोस्टहरू केवल समयक्रम (क्रोनोलोजिकल अर्डर) अनुसार मात्र देखिन्थे। तर यो नयाँ ‘ग्रिड पुन:क्रमबद्ध’ सुविधाले प्रयोगकर्तालाई आफ्नो प्रोफाइलको डिजाइनमा पूर्ण नियन्त्रण दिन्छ।

मेटा कम्पनीले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ कि प्रयोगकर्ताले नयाँ जीवनका अध्यायहरू जोड्न, पुराना सामग्रीहरूलाई पुनः विशेष रूपमा देखाउन वा आफ्ना मुख्य प्रोजेक्टहरू प्रदर्शन गर्न यो सुविधा उपयोगी हुनेछ। यो सुविधा प्रयोग गर्न, प्रयोगकर्ताले आफ्नो प्रोफाइलमा गएर कुनै पनि पोस्टलाई लामो समयसम्म थिच्नुपर्छ (लांग प्रेस)। त्यसपछि खुल्ने पप-अप मेनुबाट ‘ग्रिड पुन:क्रमबद्ध’ विकल्प छानेर मनपर्ने स्थानमा पोस्टलाई ड्र्याग गरी सजिलै क्रम मिलाउन सकिन्छ। यद्यपि, प्रोफाइलमा सबैभन्दा माथि ‘पिन’ गरिएका पोस्ट र रील्सहरू भने आफ्ना पुराना स्थानमै रहन्छन्।