प्रत्येक हप्ता डेडढदेखि दुई घण्टासम्म भारोत्तोलन गर्ने अभ्यासले अल्पायुमा मृत्यु हुने जोखिमलाई उल्लेखनीय रूपमा कम गर्ने नयाँ अनुसन्धानले देखाएको छ। दशकौंसम्मका अध्ययनबाट सङ्कलन भएका तथ्याङ्कले शरीर बलियो बनाउन निरन्तर गरिने तौलसम्बन्धी व्यायामले मुटु रोग र मस्तिष्काघातबाट हुने मृत्युको सम्भावना कम गर्ने देखाएको छ। यसले स्नायु सम्बन्धी रोगहरूबाट हुने मृत्युलाई पनि कम गर्न सक्छ भन्ने भनिएको छ।
विज्ञहरूले शरीर बलियो बनाउने यी व्यायामहरूले स्वास्थ्य कमजोर हुनबाट बचाउने थप प्रमाण देखिएको उल्लेख गर्दै यसले दबाबमा रहेका स्वास्थ्य सेवा प्रदायकहरूका लागि सहजता पुर्याउने बताएका छन्। २८ वर्षकी केट होगार्थले भारोत्तोलन मन पराउँछिन् र यसले आफूमा आत्मविश्वास बढाएको ठान्छिन्। उनले भने, “म जीवनको दोस्रो भागमा पनि स्वतन्त्र रहन चाहन्छु। धेरै अध्ययनहरूले यस्तो व्यायामले तपाईको कार्डियोभास्कुलर स्वास्थ्य, मांसपेशी, हड्डी र मानसिक स्वास्थ्यमा धेरै फाइदा पुर्याउने देखाएका छन्।”
ब्रिटिश जर्नल अफ स्पोर्ट्स मेडिसिनमा प्रकाशित अध्ययनकर्ताहरूले ३० वर्षभन्दा बढी लामो अवधिमा सङ्कलित १,४७,३७४ जनाको तथ्याङ्क विश्लेषण गरेका छन्। हप्तामा ९० मिनेटदेखि २ घण्टासम्म तौल उठाएर व्यायाम गर्नेमा अल्पायुमत मृत्यु जोखिम १३ प्रतिशतले कम देखिएको छ। उदाहरणका लागि, हार्ट अट्याक वा स्ट्रोक जस्ता कार्डियोभास्कुलर रोगबाट मृत्यु हुने संख्या १९ प्रतिशतले कम भएको छ।
व्यायामका फाइदाहरूको बारेमा बेभ विल्सनले भनेकी छन्, “तौलसम्बन्धी व्यायामले शरीरमा चीनीको स्तर नियन्त्रण गर्न, हड्डी बलियो बनाउन र जोर्नी दुखाइ कम गर्न मद्दत गर्छ।” स्पोर्ट्स इङ्ल्यान्डका स्वास्थ्य र तन्दुरुस्ती नीतिका प्रमुख टम बर्टन भन्छन्, “शक्तिमा आधारित शारीरिक अभ्यास एक शक्तिशाली माध्यम हो र विशेष गरेर स्वस्थ वृद्धावस्थामा सहयोग पुर्याउँछ।”

