नेपाली लेगस्पिनर सन्दीप लामिछानेले युरोपियन टी-२० प्रिमियर लिगमा रटरडाम डकर्स टोलीबाट खेल्ने भएका छन्। यो प्रतियोगिता आईसीसीबाट स्वीकृत पहिलो बहुराष्ट्रिय टी-२० लिग हो। लिगमा स्टिभ स्मिथ र मिचेल मार्शसहित अनेकौं चर्चित खेलाडीहरू सहभागी हुनेछन्।
१६ असार, काठमाडौं। नेपाली क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले रटरडाम डकर्सबाट युरोपियन टी-२० प्रिमियर लिग खेल्ने भएका छन्। क्लबले सामाजिक सञ्जालमार्फत सन्दीपलाई अनुबन्ध गरेको जानकारी दिएको छ। यो लिग युरोपमा आयोजना गरिने नयाँ फ्रेन्चाइज आधारित टी–२० क्रिकेट प्रतियोगिता हो। यसमा अस्ट्रेलियाका स्टार खेलाडीहरू स्टिभ स्मिथ र मिचेल मार्श सहभागी हुनेछन् भने पूर्वकप्तान स्टिभ वह र हालका अलराउन्डर ग्लेन म्याक्सवेल टिमका मालिकसमेत रहेका छन्। आईसीसीको स्वीकृत बहुराष्ट्रिय टी–२० लिगको रूपमा ईटीपीएल पहिलो पटक आयोजना हुने प्रतियोगिता हुनेछ।

