
७ चैत, काठमाडौं । नेपाल प्रहरीले लागुऔषध नियन्त्रण ब्युरोले खैरो हेरोइन र चरेससहित पाँच जनालाई विभिन्न घटनामा पक्राउ गरेको छ । ब्युरोका अनुसार दुई फरक घटनामा पाँच जनालाई नियन्त्रणमा लिइएको हो ।
ब्युरोका प्रवक्ता दुर्गाराज रेग्मीका अनुसार, पहिलो घटनामा काठमाडौंमा विद्यालय र कलेजमा पढ्ने विद्यार्थीहरूलाई समेत लागुऔषध बिक्री गरिएको सूचना पाएपछि ललितपुरबाट एक महिला पक्राउ परेकी छिन् ।
पक्राउ पर्ने व्यक्तिको नाम कल्पना तामाङ रहेको छ, जो मकवानपुरको थाहा नगरपालिका–११ घर भएकी ३८ वर्षीया महिला हुन् । उनीसँग २ केजी ३०० ग्राम चरेस र डिजिटल तराजु बरामद भएको छ, ब्युरोले जनाएको छ ।
त्यस्तै अर्को घटनामा भारतबाट काठमाडौंमा खैरो हेरोइन ल्याएर बिक्री गरिरहेको भनी सूचना प्राप्त भएपछि खटिएको टोलीले काठमाडौं महानगरपालिका–१५, कारखाना चोकबाट तीन जना पक्राउ गरेको छ । पक्राउ पर्ने तीनै जना सिन्धुपाल्चोक सुनकोशी–५ का ३१ वर्षीय विशाल श्रेष्ठ, चौतारा–७ का ३९ वर्षीय अर्जुन थापा र काभ्रे तेमाल–८ का ३० वर्षीय सागर तामाङ रहेका छन् । उनीहरूसँग ३७ ग्राम ४०० मिलिग्राम खैरो हेरोइन र डिजिटल तराजु बरामद भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी सोही घटनाको थप अनुसन्धानका क्रममा उनीहरूलाई भारतको बिहारबाट खैरो हेरोइन ल्याइदिने बिहार अररिया फारबिसगन्जका २५ वर्षीय विपुल बर्मालाई पनि ब्युरोले पक्राउ गरेको छ । उनको नियन्त्रणबाट १०० ग्राम खैरो हेरोइन फेला परेको बताइएको छ ।





